नेपाल टी–२० लिगमा काठमाडौं नाइट्सको विजयी सुरुआत।
काठमाडौं। नेपाल टी २० क्रिकेट लिगमा काठमाडौं नाइट्सले विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको हो । ढिला गरी सुरु भएको खेलका १ ओभर घटाइएको थियो । निर्धारित १९ ओभरमा काठमाडौंले ५ विकेट गुमाएर १६२ रनब नाएको थियो।
काठमाडौंका लागि अजमतुल्लाह ओमरजाइले ८५ रनको विस्फोटक पारि खेले । उनले ४२ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै नटआउट रहेका थिए । यसैगरी सुनम गौतमले २७ रनको नटआउट पारि खेल्दा एलेक्सले ब्लेकले २१ रन जोडेका थिए । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल भने खाता नै नखोली आउट भए । विरेन्द्रदीप सिंहले १० रन जोडे । पोखराका प्रतिश जिसि र जाहिर खानले दुई दुई विकेट लिए । मौसम ढकालको नाममा १ विकेट रह्यो ।
१६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो । पोखराका उपुल थरंगाले ४४ रनको पारि खेल्दा ३४ बल फेस गरेका थिए । यसैगरी अमिर हम्जाले १८ रन बनाउँदा आरिफ शेखले २० रन जोडे । अभिमन्यू मिथुनले १८ रन जोडेका थिए । सिद्धार्थ लोहनी १३ रनमा रनआउट भए । अभिनास वोहोराले ३ विकेट लिँदा बसिर अहमदले २ विकेट हात पारे । अनिल खरेलको नाममा १ विकेट रह्यो ।
पहिलो हुने टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ ।
प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । युसैगरी इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।
नेपाल टी २० लिग भोलिदेख त्रिवि क्रिकेट मैदानमा हुने छ र पहिलो संस्करणमा ६ टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड रहेका छन् ।
