रेशम चौधरीको उम्मेदवारी खारेज।
प्रतिनिधिसभा सदस्यका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज गरेको छ।मुख्य निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले चौधरीविरुद्ध परेको उजुरीमा छानबिन गरी मंगलबार उम्मेदवारी खारेज भएको जनाए ।
निर्वाचन अधिकृत लम्सालका अनुसार प्रतिनिधिसभा ०७४ को दफा १३ को ख(ङ) र झ बमोजिम खारेज गरीपाउँ भनी माओवादी केन्द्रका प्रतिनिधिसभाका उम्मेदवार सुरेश पन्थले उजुरी दिएका थिए ।
उम्मेदवारी खारेज भएको जानकारी पाएपछि उनका समर्थकले नारवाजी गर्न थालेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जनाए । अहिले त्यहाँको अवस्था शान्त छ । उच्च अदालतबाट जन्मकैदको सजाय पाएर हाल चौधरी डिल्लीबजारस्थित कारागारमा सजाय भोगिरहेका छन् ।
