नेसपा अध्यक्ष डा.बाबुराम भट्टराई चुनाव नलड्ने घोषणा।
काठमाडाैँ – नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले यसपालीकाे प्रतिनिधिसभा निर्वाचनमा चुनाव नलड्ने घाेषणा गरेका छन् । नेकपा माओवादी केन्द्रकाे चुनाव चिह्न (हसिया हथाैँडा)मा गाेर्खा-२ बाट चुनाव लड्ने बताएका उनले चुनाव नलड्ने घाेषणा गरेका हुन् ।
उनले साेमबार सामाजिक सञ्जालमार्फत आफू चुनावमा नलड्ने तर जनतामाझ रहेर समाजसेवा गरिरहने बताएका हुन् । साथै उनले चुनाव नलड्नु राजनीति छाड्नु नभएकाे बताउँदै आफू सधै राजनीतिमा रहेकाे बताएका छन् ।
‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन । ‘उनले भने,’तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो । म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।’

