जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिसिंह धामीको एकल इजलासले बुधबार अध्यक्ष नेम्वाङलाई र महासचिव राईलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

सरकारी वकिल कार्यालयले प्रतिवादीहरूबाट कुल ९३ लाख ९ सय रुपैयाँ बिगो र क्षतिपूर्ति भराउन माग गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले गत असोज २२ मा जिल्ला अदालत ललितपुरमा दायर गरेको अभियोगपत्रमा अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सन्जीव पाण्डेलाई प्रतिवादी बनाएको थियो । उनीहरु दुवै बुधबार बयानका लागि अदालतमा हाजिर भएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरु दुई जनासहित कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेविरुद्ध अनुसन्धानपछि जिल्ला अदालत, ललितपुरमा मुद्दा दर्ता गरेको थियो । चारै जनाविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७  अन्तर्गतको खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने कसुर तथा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी सम्बन्धी कसुर आरोप छ ।

चार जनामध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे भने क्रमशः १५ लाख र १२ लाख धरौटीमा रिहा भइसकेका छन् । अध्यक्ष र महासचिव भने मुद्दा दायरपछि फरार रहँदै आएका थिए । दुबै जना आज अदालतमा उपस्थित भएर बयान दिएपछि थुनछेक बहस भएको थियो ।

फिफा विश्वकप २०२६ छनोट अन्तर्गत सन् २०२४ मार्च २१ मा नेपालको घरेलु मैदान (दशरथ रंगशाला) मा हुनुपर्ने खेल बहराइनमा सारिएको थियो । रङ्गशालाको मैदान संरक्षण नगरी गैर–अन्तर्राष्ट्रिय कार्यक्रमहरू सञ्चालन गर्न दिएर मैदानलाई अयोग्य बनाइएको र त्यसपछि बहराइनसँग मिलेमतो गरी ‘होम म्याच’ उतै खेल्ने सम्झौता गरिएको दाबी छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय