नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेतृत्वले प्रदेशमा सत्ता सहकार्यका लागि हस्ताक्षर गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तीनबुँदेमा सहमतिमा हस्ताक्षर गरेका हुन् । उनीहरूले गरेको हस्ताक्षरपत्रमा प्रदेशसभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने उल्लेख छ ।
यस्तै, उनीहरूले सत्ताबाँडफाँट पनि गरेका छन् । कोसी, वाग्मती र लुम्बिनीमा एमालेले नेतृत्व गर्ने उल्लेख छ । कर्णाली प्रदेश र सुदूरपश्चिमा नेकपाले नेतृत्व गर्ने भनिएको छ । मधेस प्रदेश र गण्डकीमा अन्य राजनीतिक दलहरुसँगको परामर्शमा सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने उल्लेख छ ।
सहमतिको औचित्यबारे भनिएको छ,”राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तिब्र बनाउन हामी दुई राजनीतिक दलहरू सहमतिमा पुगेका छौँ ।”
प्रदेशसभामा बजेट निर्माणका देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा समाधानका लागि सहमति गरिएको जिकिर दुई दलको छ ।



