शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबिचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

साथै शिक्षा क्षेत्रमा अमेरिकी  सरकार कोतर्फबाट प्राप्त सहयोग र आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सीपमूलक शिक्षाको प्रवर्द्धन तथा खेलकुद क्षेत्रका सम्भावित सहकार्यबारे छलफल भएको थियो ।

अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आएको छ । विशेष गरी अमेरिकी सहयोग नियोग (युएसआइडी) मार्फत अर्लिग्रेड रिडिङ र लर्निङ कार्यक्रमका साथै कलेज अफ एजुकेशनमा अमेरिकी सरकारको सहयोग रहँदै आएको छ ।

भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र अमेरिकाबिचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

वर्तमान सरकारले शिक्षा क्षेत्रमा विभिन्न सुधार गरिरहेको स्मरण गराउँदै विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रम प्रारूपको परिमार्जनको काम भइरहेको तथा सैद्धान्तिक भन्दा पनि व्यवहारिक पाठ्यक्रम बनाउन मन्त्रालय अघि बढेको बताए ।

साथै उनले पाठ्यक्रम प्रारूप परिमार्जनको क्रममा विद्यालय तहदेखि नै खेलकुदलाई पाठ्यक्रममै समावेश गर्ने गरी पाठ्यक्रम प्रारूप परिमार्जनको काम भइरहेको जानकारी समेत दिए ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय