नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । मंगलबार पार्टी कार्यालय च्यासलमा राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै एकताको भ्रममा नपर्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।
“हामी समूहगत र संस्थागत एकता गर्दैनौँ तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्ने काम गर्छौं,” उनले भने ।
उनले सबै लोकतन्त्रवादी, बामपन्थी तथा देशभक्तहरूबीच कार्यगत एकताका साथ संयुक्त संघर्षमा जानुपर्नेे आवश्यकता रहेको बताए । लोकतन्त्रलाई फर्काउन संयुक्त संघर्ष जरुरी रहेको धारणा ओलीको छ ।



