परराष्ट्रमन्त्री शिशिर खनालले इरानी हिरासतमा रहेका नेपाली युवा अमृत झाको मुद्दा द्रूत प्रक्रियामा टुंग्याउन आग्रह गरेका छन् ।
शुक्रबार आफूलाई भेट्न आएका नेपालका लागि इरानका गैरआवासीय राजदूत डा. मोहम्मद फतालीलाई उनले सो आग्रह गरेका हुन् ।
“मन्त्री खनालले हाल इरानी हिरासतमा रहेका अमृत झाको मुद्दामा द्रूत प्रक्रियाको लागि राजदूत फतालीको सहयोगका लागि आग्रह गर्नुभयो,” परराष्ट्र मन्त्रालयले भनेको छ ।
जवाफमा इरानी राजदूतले आफ्नो तर्फबाट यस विषयमा गम्भीरतापूर्वक अनुगमन गर्ने आश्वासन दिएका थिए ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरूबीच पश्चिम एसियाको वर्तमान अवस्था र यस क्षेत्रमा शान्ति र स्थायित्व पुनर्स्थापित गर्न भइरहेका प्रयासहरूका बारेमा विचार आदानप्रदान भएको थियो ।



