परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई समयसापेक्ष, वस्तुपरक र प्रभावकारी बनाउन प्राज्ञिक अनुसन्धान एवं बौद्धिक बहसको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
नेपाल काउन्सिल अफ वर्ल्ड अफेयर्स (एनसीडब्लूए) को वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
अहिले परराष्ट्र नीति उच्चस्तरीय भ्रमण र सन्धि–सम्झौतामा मात्र सीमित नरहेको मन्त्री खनालको भनाइ छ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र मर्यादा, डिजिटल अर्थतन्त्रमार्फत नेपाली युवाको विश्व बजारमा पहुँच र महामारीका समयमा खोप तथा औषधिको सुनिश्चितता जस्ता विषयहरू नेपालको कूटनीतिक प्राथमिकता रहेको उनले बताए ।
“अहिले परराष्ट्र नीति उच्चस्तरीय भ्रमण र सन्धि–सम्झौतामा मात्र सीमित छैन, यो नागरिकको दैनिक जीवनसँग जोडिएको छ,” मन्त्री खनालले भने, “वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र मर्यादा, डिजिटल अर्थतन्त्रमार्फत नेपाली युवाको विश्व बजारमा पहुँच र महामारीका समयमा खोप तथा औषधिको सुनिश्चितता जस्ता विषयहरू हाम्रा कूटनीतिक प्राथमिकता हुन् ।”
मन्त्री खनालले वर्तमान विश्वले जलवायु संकट, विश्वव्यापी आपूर्ति शृंखलामा अवरोध र ऊर्जा सुरक्षाजस्ता बहुआयामिक चुनौतीहरूको सामना गरिरहेको बताए । औपचारिक कूटनीतिले कतिपय संवेदनशील विषयहरूमा तत्काल संवाद अगाडि बढाउन नसक्ने अवस्थामा ‘ट्रयाक टू डिप्लोमेसी’ (दोस्रो तहको कूटनीति) मार्फत अनौपचारिक र बौद्धिक संवाद चलाउन एनसीडब्लूएले पुलको काम गर्नुपर्नेमा उनले जोड दिए ।
“आजको बदलिँदो परिस्थितिमा नेपालले आफ्नो सार्वभौमसत्ता अक्षुण्ण राख्दै विश्व बजारमा आफ्नो अर्थतन्त्रलाई एकीकृत गर्नुपर्ने चुनौती छ,” उनले भने, “यस्तो अवस्थामा एनसीडब्लूएजस्ता स्वतन्त्र र गैरराजनीतिक थिंक ट्यांकको भूमिका अझै महत्त्वपूर्ण भएको छ ।”
सन् १९४८ मा स्थापित यस संस्थाले नेपालको कूटनीतिक विकासक्रममा एक सचेत पहरेदारको रूपमा कार्य गर्दै आएको मन्त्री खनालले उल्लेख गरे । सो अवसरमा उनले एनसीडब्लूए जर्नलको नयाँ अंक विमोचन गर्दै यसमा समेटिएका गहन लेखहरूले नीति निर्माताहरूलाई विश्वव्यापी भू–राजनीतिक परिवर्तनहरू बुझ्न र उचित निर्णय लिन बौद्धिक आधार प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।



