नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमबार रिटमाथिको सुनुवाइ सकिएको छ । मुद्दामा आजै फैसला आउने बताइएको छ ।
आइतबार ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको थियो । आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए ।जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते निवेदन दर्ता गराएका थिए ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो ।
