पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा (एमाले)का नेताहरूले आक्रमक अभिव्यक्ति दिइरहेका छन् । तर, पूर्वगृहमन्त्री रमेश लेखकसमेत पक्राउ पर्दा नेपाली कांग्रेसका नेताहरू भने मौनजस्तै देखिएका छन् ।
ओली पक्राउपछि एमालेका महासचिव शंकर पोखरेलले कडा टिप्पणी गरेका छन् । उनले ओलीलाई तत्काल रिहा गर्न माग पनि गरेका छन् । समाजिक सञ्जालमा प्रतिकृया जनाउँदै लेखेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ, जिम्मेबार बन, अबिलम्ब रिहा गर।’
एमाले सचिव महेश बस्नेतले विरोध प्रदर्शन गर्न आह्वान गरेका छन् । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको बताएका छन् । यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिने उनको भनाइ छ ।
यसैगरी, एमाले नेता प्रदीप ज्ञवालीले पनि प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार गएको टिप्पणी गरेका छन् । तर उसले चाहेजस्तो नहुने उनको भनाइ छ । एमाले अरू थुप्रै नेताहरूले पनि ओलीको गिरफ्तारीविरुद्ध कडा अभिव्यक्ति दिएका छन् ।
तर, कांग्रेस नेताहरू भने मौनजस्तै देखिएका छन् । कांग्रेसका माथिल्लो तहका कुनै पनि नेताहरूले लेखकको गिरफ्तारीविरुद्ध केही लेखेका छैनन् ।
लेखकले भने राजनीति र कानुनी लडाइँ लड्न तयार रहेको बताएका छन् । राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरिएको भन्दै उनले त्यसको राजनीति र कानुनी लडाइँ लड्ने बताएका हुन् । शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यस्तो बताएका हुन् । लेखकको सचिवालयका अनुसार उनले भने, ‘राजनीतिक पूर्वाग्रह र प्रतिशोध पूर्ण ढंगले मलाई पक्राउ गरेको छ। यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु।’
मन्त्रिपरिषद्को निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको लेखकले बताए। ‘क्याबिनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ। यस्तो कहिले हुँदैन संसारमा,’ उनले भने।
