इजरायल र अमेरिकाले इरानविरुद्ध सुरु गरेको संयुक्त युद्ध तीन हप्ता पुग्दा युद्धको दिशा र भविष्यलाई लिएर अन्योल बढेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सार्वजनिक अभिव्यक्ति र भुइँतहको वास्तविक स्थितिबीच ठूलो अन्तर देखिएपछि सैन्य रणनीतिकार र विश्लेषकहरू चिन्तित देखिएकोबीबीसीले खबर छापेको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध लगभग समाप्त हुनुका साथै इरानी सैन्य शक्ति समेत ध्वस्त भएको दाबी गरिरहेपनि अमेरिकाले मध्यपूर्वमा थप स्थल सेना र नौसैनिक टोलीहरू पठाइरहेको समाचारमा उल्लेख छ ।

ट्रम्पले आइतबार बिहान ‘ट्रुथ सोसल’ मार्फत इरानलाई कडा चेतावनी दिँदै ४८ घण्टाको समय सीमा दिएका छन्। उनले यदि इरानले स्ट्रेट अफ हर्मुज अवरोध नगरी पूर्ण रूपमा नखोलिएमा इरानका ठूला पावर प्लान्टहरूमा आक्रमण सुरु गर्ने धम्की दिएका हुन्।

विश्वको २० प्रतिशत तेल ढुवानी हुने सो मार्गमा अहिले इरानले अनुमति दिएका जहाजहरू मात्र चल्न पाइरहेका छन्।

सैन्य विश्लेषकहरूका अनुसार अमेरिकाले इरानको मुख्य तेल निर्यात केन्द्र रहेको ‘खर्ग टापु’ कब्जा गर्ने तयारी गरिरहेको हुन सक्छ। जापान र क्यालिफोर्नियाबाट हिँडेका करिब ५ हजार मरीन सैनिकहरू अप्रिलको मध्यसम्ममा त्यहाँ पुग्ने अनुमान गरिएको छ।

यदि यो टापु कब्जा भएमा इरानको तेलबाट हुने आम्दानी ठप्प हुनेछ। यसको बदलामा इरानले रेड सी (लाल सागर) मा असुरक्षा सिर्जना गर्ने र क्षेत्रका अन्य ऊर्जा केन्द्रहरूमा आगो लगाइदिने चेतावनी दिएको छ।

युद्धको सुरुवाती दिनहरूमा सत्ता परिवर्तन र बिना शर्त आत्मसमर्पणको कुरा गर्ने ट्रम्प अहिले केही नरम देखिएका छन्। पछिल्लो समय उनले इरानको सैन्य क्षमता र आणविक कार्यक्रम नष्ट गर्ने कुरालाई मात्र प्राथमिकतामा राखेका छन्। यसको अर्थ इरानको वर्तमान नेतृत्व कायम रहँदै पनि अमेरिकाले युद्ध अन्त्यको घोषणा गर्न सक्ने सम्भावना देखिएको समाचारमा उल्लेख छ ।

ट्रम्प प्रशासनले इरानमा जारी सैन्य अभियानका लागि अमेरिकी संसद (कंग्रेस) सँग २०० अर्ब डलरको आपतकालीन कोष माग गर्ने तयारी गरिरहेको छ। तर, आफ्नै रिपब्लिकन पार्टीका सांसदहरूले समेत यसमा प्रश्न उठाउन थालेका छन्। टेक्ससका सांसद चिप रोयले स्थल सेनाको प्रयोग र यसको खर्चबारे प्रशासनले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। युद्धको यो मोडले इरान र अमेरिकाबीचको टकरावलाई अझ भयानक बनाउने हो वा कुनै सम्झौतामा पुर्‍याउने हो भन्ने कुरा अहिले गम्भीर प्रश्न बनेको समेत समाचारमा उल्लेख छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय