सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुन:स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन नेपाली कांग्रेसका निवर्तमान सांसदले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन् । यसका लागि उनीहरू डेलिगेसन लिएर बिहीबार सर्वोच्च अदालत जाने भएको छ ।
विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे नेतृत्वको पूर्वसांसदको टोलीले आफूहरूको रिट छिटो अगाडि बढाउन ध्यानाकर्षण गराउनका लागि प्रधानन्यायाधीश राउतसँग भेट्न लागेको हो । यसका लागि बिहीबार बिहान ११ बजेका लागि समय लिइसकेको घिमिरेले जानकारी दिए ।
‘१७ बढी रिट संसद् पुन:स्थापना माग गर्दै परेका छन् । सर्वोच्च अदालतले अहिलेसम्म त्यो रिटको पेसी तोकेन‚’ घिमिरेले लोकान्तरसँग भने‚ ‘रिट परेपछि त्यसलाई टुंग्याउनुपर्छ । पेसी तोकिदिन र सुनुवाइ गरिदिन अनुरोध गर्न जान लागेका हौं ।’
एमाले पनि जान लागेको हो ? भन्ने प्रश्नमा उनले त्यसको टुंगो लागिनसकेको बताए ।
‘मैले महेशीलाई (विघटित प्रतिनिधिसभामा एमालेका मुख्य सचेतक) भनेको थिएँ । उहाँ निर्वाचन लड्ने क्षेत्रमा हुनुहुन्छ‚’ उनले भने‚ ‘एमालेबाट टुंगोको कुरो आएन ।’
कांग्रेसका ६५ जना निवर्तमान सांसदले संसद् पुन:स्थापनाका लागि रिट दायर गरेका छन् । रिट दायर गर्नेमध्येका काठमाडौंमा उपलब्ध सबै भोलि सर्वोच्च जाने घिमिरेले बताए ।




