आगामी प्रतिनिधिसभा निर्वाचनपछि नेपालको सत्तासमीकरण कस्तो होला भन्ने चर्चा चलिरहेछ । अघिल्लो सरकारका सत्ता–सहयात्री दल काँग्रेस र एमाले अब मिलेर सरकार बनाउने अवस्था आउला ? नवनिर्वाचित काँग्रेस सभापति गगन थापाले एमालेसँग चुनावी तालमेल र गठबन्धन नहुने बताइरहेका छन् । उता नयाँ दल रास्वपाको लहर देशभरि फैलिँदो छ । पुराना दलहरु बाध्यताले नै मिल्नुपर्ने अवस्था आउन सक्छ । त्यसो हो भने काँग्रेस एमालेसँग नमिलेमा एमाले चैँ प्रचण्ड–माधव नेतृत्वको नेकपासँग मिलेर सरकार बनाउँला ? चुनावअघि नै प्रचण्डले एमालेसँग मिलेर जान सकिन्छ कि भनी कोसिस गरेका थिए । तर कुरा मिल्न नसक्दा गठबन्धन सफल भएन । उता काँग्रेसको संस्थापन पक्षसँग एमालेले तालमेलको तयारी गरिसकेको थियो, तर विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि तालमेल भाँडियो । मुलुकमा विकसित नयाँ नयाँ परिस्थिति भूराजनीतिका कारण कम्युनिष्ट शक्तिहरु एकीकृत हुनुपर्ने कुरामा प्रण्डले जोड दिँदै आएका छन् ।

नेकपाका संयोजक प्रचण्डले एमालेलाई पनि आफ्नो पार्टीसँग एकता गर्न आह्वान गरेका छन् । शुक्रबार एक कार्यक्रममा उनले मुलुकलाई संकटबाट जोगाउनका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको भन्दै त्यसका लागि सबै वामपन्थी, कम्युनिष्ट र लोकतान्त्रिक शक्तिहरु मिल्नुपर्ने बताए । उनले मुलुकलाई संकटबाट जोगाउनका लागि आफूहरुले पार्टीहरुबीचको एकता अभियानलाई तीव्रता दिएको दाबी गर्दै प्रतिक्रियावादीहरुको चलखेललाई रोक्न पनि सबै देशभक्तहरुले एकताबद्ध हुनुपर्ने बेला आएको बताए ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम निकै नाटकीय र द्रुत गतिमा परिवर्तन भइरहेको छ । गत भदौको ‘जेन–जी’ आन्दोलन, त्यसपछि उदाएका नयाँ शक्ति र काँग्रेसमा देखिएको रुपान्तरणका कारण आगामी निर्वाचनपछिको समीकरण थप रोचक हुने देखिन्छ । जेनजी आन्दोलनको क्रममा पुराना स्थापित बलिया दलहरुमाथि निसाना बनाइनुका साथै राज्यका प्रमुख एवं संवेदनशील अंगहरुमाथि हमला भयो । यसले नेपाललाई अस्थिर बनाइराख्ने भूराजनीतिक दाउपेचलाई सतहमा ल्याएको छ । प्रचण्डले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक संस्कारले मात्रै मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न नसकिने बताउँदै रुपान्तरणसहित पुराना शक्तिहरु एकजुट हुनुपर्ने बताउँदै आएका छन् । सबै राजनीतिक दलहरूले विगतका कमजोरीबारे आत्मसमीक्षा गर्न आवश्यक रहेको भन्दै उनले मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न राष्ट्रिय एकताको खाँचो रहेको बताउने गरेका छन् ।

काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले ‘चुनावी गठबन्धन नगर्ने’ नीतिलाई पार्टीको मुख्य एजेन्डा बनाएका छन् । तर चुनावपछि कसैको पनि बहुमत नआएको स्थितिमा सरकार बनाउन सहकार्य गर्नेबारे उनी मौन छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फेरि पनि प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरिरहेका छन् । कांग्रेस गगनलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी नछाड्ने र एमालेले पनि नेतृत्व नत्याग्ने हो भने यी दुई ठूला दलबीच तत्कालै सत्ता साझेदारीकोे सम्भावना न्यून देखिन्छ । रास्वपाले बालेन शाहलाई प्रधानमन्त्री तोकेर चुनावी लहर फैलाइरहेको छ । यसले गर्दा आगामी संसदमा कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना कम छ । यदि रास्वपा वा नयाँ शक्तिहरूले ठूलो सिट जितेमा, पुराना दलहरू (कांग्रेस, एमाले र नेकपा) आफ्नो अस्तित्व जोगाउनकै लागि भए पनि सत्तामा मिल्नुपर्ने ‘बाध्यात्मक परिस्थिति’ भने आउन सक्छ ।

प्रचण्डले साना करिब २० वटा कम्युनिस्ट घटकहरूलाई मिलाएर गठन गरेको नेकपा र एमालेबीच चुनावपछि सत्ता सहकार्य हुनसक्ने अनुमान बलियो बन्दै गएको छ । उत्तरी छिमेकी चीनले सधैं नेपालका कम्युनिस्ट शक्तिहरू मिलेको हेर्न चाहने चर्चा भूराजनीतिक वृत्तमा चल्ने गर्छ । प्रचण्डले पनि ‘बदलिएको विश्व परिस्थिति र समाजवादको आधार तयार पार्न’ कम्युनिस्ट एकतामा जोड दिइरहेका छन् । एमाले र प्रचण्ड नेतृत्वको दल मिल्ने मुख्य बाधक भनेकै ‘नेतृत्वको टकराव’ हो । केपी ओली रहेसम्म एमालेसँग एकता नहुने भन्दै आएका प्रचण्ड अहिले आफै एकताको आह्वान गरिरहेका छन् । बदलिएको परिवेशमा दुवैले एकअर्काको नेतृत्व स्वीकार गर्न कठिन नमानेमा अबको एकता सम्भव देखिन्छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय