नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मधेस प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाएको छ।

शनिबार बसेको पार्टी सचिवालयको बैठकपछि उपमहासचिव लेखराज भट्टले सार्वजनिक गरेको विवरणअनुसार सप्तरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार तय गरेको छ।

जसअनुसार क्षेत्र नं. १ मा सुमनराज प्याकुरेल, २ मा सतिश सिंह, ३ मा ताराकान्त चौधरी र ४ मा बालकृष्ण चौधरीले टिकट पाएका छन्। त्यस्तै सिराहामा पनि चारवटै क्षेत्रको नाम टुंगिएको छ। सिराहा क्षेत्र नं. १ बाट रामशंकर यादव, २ बाट नवीन कुमार यादव, ३ बाट पूर्वमन्त्री लिलानाथ श्रेष्ठ र ४ बाट बिलतु साह उम्मेदवार बन्ने भएका छन्।

धनुषा जिल्लामा क्षेत्र नं. १ मा रामचन्द्र मण्डल, २ मा उमाशंकर अरगरिया, ३ मा जुली कुमारी महतो र ४ मा पूर्वमन्त्री रघुवीर महासेठ उम्मेदवार रहनेछन्। महोत्तरीमा भने क्षेत्र नं. १ मा लक्ष्मी महतो कोइरी, २ मा राम परीक्षण यादव र ४ मा सरोजकुमार यादवलाई टिकट दिइएको छ। महोत्तरीको क्षेत्र नं. ३ मा भने हाललाई उम्मेदवारको नाम बाँकी राखिएको छ।

रौतहट र बारामा पनि एमालेले आफ्ना उम्मेदवारहरूको सूची करिब पूर्ण बनाएको छ। रौतहट क्षेत्र नं. १ मा अजय कुमार गुप्ता, २ मा शैलेन्द्र साह, ३ मा कुन्दन कुशवाहा र ४ मा रामजी साहले प्रतिस्पर्धा गर्नेछन्। बारामा क्षेत्र नं. १ बाट अच्युत मैनाली, २ बाट बलवीर प्रसाद चौधरी, ३ बाट ज्वाला कुमारी साह र ४ बाट कृष्णकुमार श्रेष्ठ (किसान) उम्मेदवार बन्ने निश्चित भएको छ।

सर्लाही र पर्सामा भने केही क्षेत्रहरू अझै खाली राखिएका छन्। सर्लाहीको क्षेत्र नं. ३ मा हरि उप्रेतीलाई उम्मेदवार बनाइएको छ भने क्षेत्र नं. १ र २ मा नाम टुंगिन बाँकी छ। त्यसैगरी पर्सामा क्षेत्र नं. ३ बाट प्रमोद जैसवाल र ४ बाट जालिम मियाँलाई टिकट दिइएको छ भने क्षेत्र नं. १ र २ मा अझै निर्णय हुन बाँकी रहेको उपमहासचिव भट्टले जानकारी दिए ।

मधेस प्रदेशका बाँकी रहेका क्षेत्रहरू (महोत्तरी ३, सर्लाही १ र २, तथा पर्सा १ र २) मा चुनावी तालमेलको सम्भावना र रणनीतिक अवस्थालाई हेरेर अन्तिम निर्णय गर्ने अधिकार सचिवालयले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पिएको छ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय