पछिल्लो समय बैंकबाट सुनचाँदी कर्जा प्रवाह बढ्दै गइरहेको छ । चालु आर्थिक वर्षको शुरूआतदेखि बैंक तथा वित्तीय संस्थाको सुनचाँदी कर्जा बढ्दै गइरहेको तथ्यांकले देखाउँछ ।
चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ९० अर्ब ४९ करोड ७६ लाख बराबरको सुनचाँदी कर्जा प्रवाह गरेका छन् । अर्थात् चालु आर्थिक वर्षको कार्तिक महिनासम्म बैंक तथा वित्तीय संस्थाबाट ९० अर्ब ४९ करोड ७६ लाख रूपैयाँ सुनचाँदी कर्जा प्रवाह भएको छ ।
जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कूल ६२ अर्ब ७७ करोड ६४ लाख बराबरको यस्तो कर्जा प्रवाह भएको थियो । गत वर्षको तुलनामा यस वर्ष प्रवाह भएको सुनचाँदी कर्जा करिब ३० प्रतिशतले बढेको देखिन्छ ।
कूल सुनचाँदी कर्जामा नेपालका वाणिज्य बैंकहरूले मात्रै ८३ अर्ब ८२ करोड ७७ लाख रूपैयाँ प्रवाह गरेका छन् । त्यस्तै, विकास बैंकहरूबाट ५ अर्ब ८५ करोड ९३ लाख र फाइनान्स कम्पनीबाट ८१ करोड ५ लाख बराबरको सुनचाँदी कर्जा प्रवाह भएको छ ।
कुन वाणिज्य बैंकले कति सुनचाँदी कर्जा प्रवाह गरे ?
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ वटाले सुनचाँदी कर्जा लगानी गर्दा ६ वटाले लगानी गरेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै नेपाल बैंकले सुनचाँदी कर्जा प्रवाह गरेको छ ।
नेपाल बैंकले चार महिनामा मात्रै ४० अर्ब ३० लाख रूपैयाँ बराबरको सुनचाँदी धितोमा राखी कर्जा प्रवाह गरेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले २९ अर्ब ४३ करोड ९० लाख रूपैयाँ सुनचाँदी कर्जा प्रवाह गरेको छ ।

त्यसैगरी, प्राइम बैंकले ७ अर्ब ५९ करोड २० लाख, नेपाल इन्भेस्टमेन्ट मेगाले २ अर्ब ७७ करोड ८० लाख, नबिल बैंकले २ अर्ब २५ करोड ४० लाख, लक्ष्मीसनराइजले ७९ करोड ३७ लाख, सिटिजन्स बैंकले ६९ करोड ४२ लाख, माछापुच्छ्रे बैंकले २३ करोड ४ लाख, सिद्धार्थ बैंकले १ करोड ४५ लाख, एनआईसी एसिया बैंकले १ करोड १५ लाख, प्रभु बैंकले ५५ लाख ६० हजार, कुमारी बैंकले ४६ लाख ३० हजार, कृषि विकास बैंकले ३९ लाख १० हजार र सबैभन्दा कम एनएमबी बैंकले २ लाख रूपैयाँ सुनचाँदी कर्जा प्रवाह गरेका छन् ।
यस बाहेकका स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन,नेपाल एसबीआई, एभरेष्ट बैंक, ग्लोबल आइएमई र सानिमा बैंककले यस्तो कर्जा प्रवाह गरेको छैन ।
बैंकहरूबाट प्रवाह हुने सुनचाँदी कर्जा मागअनुसार बढेको एक वाणिज्य बैंकका डेपुटी सीईओले बताए । धितोका रूपमा राखिने सुन पछिल्लो दुई महिनामा बढ्दै गइरहेको उनको भनाइ छ ।
‘ठूलो मात्रामा सुनचाँदी कर्जा गएको थिएन । पछिल्लो समय चाहिँ केही मात्रामा बढेको देखिन्छ । जुन मूल्यको हिसाबले पनि हुन सक्छ’, उनले भने, ‘तर त्यस्तो अस्वाभाविक अथवा अत्यधिक बढेको हाम्रो बैंकबाट छैन । सुनको मूल्य बढेर अन्य क्षेत्रमा लगानी गर्नका लागि पनि हुन सक्छ या थप गहना खरिद गर्नका लागि पनि हुनसक्छ ।’
नेपालले पनि सुनचाँदीमा लगानी बढाइरहेको हो ?
विश्व बजारमा सुनको मूल्यमा अत्यधिक वृद्धि भइरहेको छ । पछिल्लो ६ महिनामा विश्व बजारमा सुनको मूल्य ९६७ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय बजार मूल्य सूचकांकले देखाउँछ ।
झन् पछिल्लो एक महिनामा सुनको मूल्य २५९ प्रतिशतले बढेर बिहीबार ४ हजार ३३० देखि ४ हजार ३३५ अमेरिकी डलरमा कारोबार भयो । विश्वका ठूला राष्ट्रहरूले सुनमा लगानी बढाइरहेका छन् । यो सँगै नेपालमा पनि सुनचाँदीतर्फ लगानी बढी रहेको चर्चा चलिरहेको छ ।
नेपालका बैंकहरूले पनि सुनमा लगानी गरिरहेको कुरा पनि चर्चामा छ । तर, के साँच्चिकै नेपालीहरूले सुनमा लगानी गरिरहेका छन् ? अथवा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले सुनमा लगानी गरिरहेका हुन् ?
तथ्यांकमा हेर्दा बैंकहरूबाट सुनचाँदीमा कर्जामा लगानी बढ्दै गइरहेको छ । तर यो सुनचाँदीमा गरिएको लगानी होइन । सुनचाँदीलाई धितोमा राखी बैंकहरूले दिएको कर्जा मात्रै हो ।
बैंक तथा वित्तीय संस्था अथवा कुनै पनि व्यक्तिले सुनमा लगानी गर्न पाउँदैन । यसका साथै नेपालका कुनै पनि बैंक तथा वित्तीय संस्थाले सुन खरिद गरेर होल्ड गर्न मिल्दैन ।
व्यवसायीको माग अनुसार बैंकहरूले दैनिक २५ किलोसम्म सुन आयात गर्न मिल्ने राष्ट्र बैंकको प्रावधान छ । सोही अनुसार नेपाल बैंकर्स एसोसिएसनमार्फत सिफारिस गरेर बैंकहरूले सुन आयात गर्ने गर्दछन् ।
तर कुनै पनि बैंकले सुनलाई होल्ड गरेर राख्न मिल्दैन । यसका साथै नेपालमा लगानी गर्ने गरी काँचो सुन पनि राख्न मिल्दैन ।




