पार्टीमा नियमित र विशेष महाधिवेशनको किचलो बढ्दै गएपछि नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पद छाड्ने घुर्की देखाउन थालेका छन् ।
आफू निकटस्थहरूसँग खड्काले पार्टी विभाजनको मोडमा पुग्ने अवस्था आएको भन्दै जिम्मेवारीबाट पछि हट्ने बताउन थालेका हुन् । खड्कानिकट केही नेताहरूले यसको पुष्टि गरेका छन्।
‘उहाँले निकटस्थहरूसँग कार्यवाहक पद छाड्छु भन्न थाल्नुभएको छ‚’ एक नेताले भने‚ ‘घुर्की लगाएको पनि हुन सक्छ । तर‚ उहाँमाथि दबाब अत्यधिक छ।’
यति बेला कांग्रेसभित्र १५ औँ महाधिवेशनको विषयलाई लिएर विवाद चरम बिन्दुमा पुगेको छ । खड्कासहितको संस्थापन पक्ष २१ फागुनअघि कुनै पनि हालतमा पार्टीको महाधिवेशन गर्ने पक्षमा छैन ।
उनीहरूले आफूभन्दा फरक मत राख्ने समूहलाई पेल्ने रणनीतिस्वरूप विभिन्न आन्तरिक तयारी गरिरहेका छन् ।
यता महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको समूह भने जुनसुकै मूल्य चुकाएर पनि चुनावअघि महाधिवेशन गर्नैपर्ने पक्षमा छ । यदि संस्थापन पक्षले पुस मसान्तभित्र नियमित प्रक्रियाबाट महाधिवेशन नगराए विशेष महाधिवेशन आह्वान गर्ने तयारी यो समूहको छ । दुई हजार चार सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशनको मागसहितको प्रस्ताव कार्यवाहक सभापति खड्कालाई बुझाएको छ ।
पार्टी विधानको धारा १७ (२) ले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेर हस्ताक्षर बुझाए तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ । खड्का भने आफू पार्टी नेतृत्वमा रहेको अवस्थामा विशेष महाधिवेशन गर्ने पक्षमा छैनन् । एकातिर पुस मसान्तमा विशेष महाधिवेशन गर्नुपर्ने अर्कोतिर चुनावअघि कुनै पनि महाधिवेशन गर्न नहुने भन्ने समूहले दबाब दिएपश्चात खड्का समस्यामा परेका हुन् ।
अर्का एक नेताले लोकान्तरसँगको अनौपचारिक कुराकानीमा भनेअनुसार पार्टीलाई विभाजनमा पुर्याउने ढङ्गबाट गर्नुपर्ने कुनै पनि निर्णय गर्न खड्का तयार छैनन् ।
‘संस्थापन पक्षले उहाँलाई चुनावअघि महाधिवेशन गर्ने गरी कार्यतालिका नल्याउन दबाब दिएका छन् । महामन्त्रीद्वयको पनि उत्तिकै विश्वास लिएर उहाँ कार्यवाहक बनेपश्चात् उहाँहरूले पनि विशेषका लागि दबाब बढाउनुभएको छ,’ ती नेताले भने, ‘पार्टीलाई विभाजनमा पुर्याउने गरी, केन्द्रीय समितिमा बहुमत अल्पमतमा पुग्ने निर्णय गराउनुपरे म राजीनामा दिन्छु भनेर उहाँले हामीसँग भन्नुभएको छ ।’
खड्काले २८ असोजमा कार्यवाहक सभापतिको जिम्मेवारी पाएका थिए । २३ र २४ भदौको जेनजी आन्दोलनबाट सभापति देउवा दम्पती आक्रमणमा परेर अस्वस्थ भएपश्चात् उनलाई कार्यवाहक नेतृत्व दिइएको थियो ।
