सरकारले निर्वाचन सम्बन्धी योजना र छलफललाई तीव्रता दिएर आफू निर्वाचनमा केन्द्रित भएको सन्देश दिन खोजेको छ ।
गतसाता राजनीतिक दलका नेताहरुसँग प्रारम्भिक परामर्श अघि बढाएको सरकारले आइतबारदेखि निर्वाचन सुरक्षाका कार्यक्रमहरु अघि बढाउने तयारी गरेको हो । आइतबारदेखि निर्वाचन सुरक्षा रणनीतिको काम अघि बढ्नेछ ।
प्रधानमन्त्री सुशीला कार्कीले शनिबार अपराह्न सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै राष्ट्रपतिको उपस्थितिमा सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचनको तयारी र सुरक्षाबारे छलफल भएको जानकारी दिइन् ।
‘राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतलनिवासमा गहन छलफल भएको छ’ प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल एक्सको पोष्टमा लेखेकी छन्, ‘निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सदृढ पार्ने विषयमा छलफल केन्द्रित थियो ।’
