
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेस प्रदेशको सरकारमा दाबी गरेको छ ।
लोसपा नेपालका अध्यक्ष ठाकुर आफ्ना पार्टीका प्रदेश सभाका सदस्यसँग छलफल गरेपछि यस्तो दाबी गर्ने भएको हो । दसैँको बेला महोत्तरी पुगेका लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका प्रदेश सभाका सदस्यहरूसँग सरकार गठनबारे छलफल गरेका थिए ।
मधेस प्रदेश सरकारमा पटक-पटक सहभागी भए पनि लोसपा नेपालले सरकारको नेतृत्व गरेको छैन । अब भने आफ्नो पार्टीले सरकारको दाबी गर्ने प्रदेश सभा सदस्य रामबाबु यादवले बताए ।
‘प्रत्येक सरकारमा एक-दुई वटा मन्त्रालय पाउँथ्यो तर त्यसले केही हुँदैनथ्यो,’ यादवले भने, ‘अब एक पटक सरकारको नेतृत्व लिएर नै अगाडि बढ्नुपर्ने बेला आएको छ ।’ पार्टीका सम्पूर्ण प्रदेश सभा सदस्यले अध्यक्ष ठाकुरलाई म्यान्टेड दिएको पनि यादवले बताए ।
अध्यक्ष ठाकुर पनि यसमा सकारात्मक रहेकाले उनले यस विषयमा केन्द्रीय नेताहरूसँग छलफल गर्ने उनले जानकारी दिए । भने, ‘हामीले अध्यक्षज्यूलाई सबै कुराको जानकारी गराइसकेका छौँ, उहाँले अब केन्द्रीय नेताहरूसँग छलफल गरेर डिसिजन लिनुहुन्छ ।’
जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंह अल्पमतमा परेपछि मधेस प्रदेश सरकारमा नयाँ नेतृत्वबारे खोजी भइरहेको छ, जहाँ नेपाली कांग्रेसले पनि दाबी गरिरहेको छ।
कांग्रेसका मधेस प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य कृष्ण यादवले सरकार गठनको विषयमा लोसपा नेपालका अध्यक्ष ठाकुरसँग पनि कुराकानी गरेका छन् । सरकार बनाउन उनले लोसपा नेपालको सहयोग मागेका छन् । त्यस्तै जसपा नेपालका नेता सरोज यादवले पनि आफ्नो नेतृत्वमा सरकार बनाउन लोसपा नेपालको सहयोग मागेका छन् । यद्यपि यसपटक लोसपा नेपाल आफैँ सरकारको नेतृत्व लिनेगरी कस्सिएको छ । सरकारको नेतृत्व नपाए प्रतिपक्षमा बस्ने लोसपा नेपालका नेताहरूले बताएका छन् ।
मधेस प्रदेशमा लोसपा नेपालको ९ सिट छ । जसपा नेपालको १९, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, कांग्रेसको २२, एमालेको २५, नेकपा (एकीकृत समाजवादी) का सात जना छन् । त्यस्तै नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक/एक जना प्रदेश सभा सदस्य छन् ।
१०७ जना सदस्य रहेको प्रदेश सभामा सरकार बनाउन ५४ जना चाहिन्छ । कांग्रेस र एमाले मिले भने पनि सात जना अपुग हुन्छन् । कांग्रेस र एमाले मिलेर सरकार बनाए सीके राउत नेतृत्वको जनमतले साथ दिने बताएको छ ।
एमालेले भने यहाँ मुख्यमन्त्रीमा दाबी गर्न छाडेको छ । एमालेबाट हालसम्म कसैले अगुवाइ गरेका छैनन् । कांग्रेस मधेस प्रदेश अध्यक्ष कृष्णा यादव भने आफै मुख्यमन्त्री बन्ने दौडधुपमा लागेका छन् ।
जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टीलगायत दलहरूले मधेसमा मधेसवादी दलकै नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै आएका छन् । तराई-मधेसकेन्द्रित दलहरूको संघीय लोकतान्त्रिक मोर्चाले पनि मधेस प्रदेशमा मधेसी दलको नेतृत्वमा सरकार बन्नुपर्ने र त्यसका लागि मोर्चाले पहल गर्ने निर्णय नै गरेको छ ।
कांग्रेस-एमाले-जनमत मिले यहाँ सरकार बन्छ । तर बाँकी अन्य सबै दल मिले पनि त्यो सम्भव देखिँदैन । यी तीन दलबाहेक ४७ सांसद मात्र पुग्छन् । यसरी हेर्दा जनमत पार्टी नै निर्णायक देखिन्छ । लोसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले आफ्नो पार्टीलाई जनमतले पनि साथ दिने विश्वास व्यक्त गरेका छन् ।
‘वर्तमान सरकार बनाउन लोसपा नेपालले पनि सहयोग गरेको हो, अहिलेसम्म समर्थन पनि फिर्ता लिएको छैन त्यही भएर अगामी दिनमा लोसपा नेतृत्वमा सरकार निर्माण हुँदा जनमत पार्टीले पनि साथ दिन्छ भन्ने हामीलाई विश्वास छ,’ उनले बताए ।
जनमत मात्र होइन; एमाले, कांग्रेस, माओवादी, जसपा नेपाललगायत दलहरूले पनि आफूहरूलाई साथ दिनेमा विश्वस्त रहेको झाले बताए । यसअघि जति सरकार बने सबैमा आफ्नो पार्टीले सहयोग गरेको उनको भनाइ छ । र अब लोसपा नेपाललाई सहयोग चाहिने र सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनले सुनाए ।
गठबन्धन तथा मिलिजुली सरकार भएकाले कुन दलको कति सिट छन्, कुन दल सानो, कुन दल ठुलो भन्ने महत्त्व पनि नराख्ने उनको बुझाइ छ । विश्वास र सहयोगको कुरा नै महत्त्वपूर्ण रहेको पनि उनले बताए ।
तर मधेसवादी दलको नेतृत्वमा मधेस प्रदेशको सरकार बनाउन सीके राउत कन्भिन्स भए पनि जसपा नेपाल पनि सँगै भएकाले उसले समर्थन गर्ने सम्भावना निकै कम हुन सक्छ ।
बरु यसअघि जनमत नेतृत्वको सरकारलाई लोसपा नेपालले सहयोग गरेको थियो, तर जसपा नेपाल विपक्षमा बसेको थियो । त्यसैले जसपा नेपाल सम्मलित सरकारमा जनमत पनि नजाने सम्भावना देखिन्छ।