
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसी एकजुट भएर केन्द्रीय समितिमार्फत समाधान खोज्नेतर्फ लाग्नुपर्ने बताएका छन् । आइतबार (असोज १२) बिहान पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले पार्टीभित्र नेतृत्व परिवर्तनका निम्ति हस्ताक्षरको विषय सार्वजनिक भएको सन्दर्भमा कार्यकर्तामा अन्योलता सिर्जना भएको उल्लेख गरे । त्यसबारे केन्द्रीय समितिबाटै निचोड निकालिने उनले स्पष्ट पारे ।
अधिवेशन प्रक्रियालाई पनि केन्द्रीय समितिबाट नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने उनले बताए ।
पत्रकार सम्मेलनमा डा. महतको भनाइ पढ्नोस्–
अहिले हाम्रो पार्टीभित्र पनि कतिपय साथीहरू, देशभर छरिएर रहेका साथीहरूमा अन्योल हुनसक्छ । हस्ताक्षरको कुरा उठिरहेको छ रे वा के भइरहेको छ रे ! अहिले हामीले यी कुराहरूमा ध्यान दिनु हुँदैन । अहिले हामी अप्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रीय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामूहिक निष्कर्ष निकाल्ने र पार्टीपंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ । अधिवेशन प्रक्रियालाई पनि हामी चाँडोभन्दा चाँडो हामीले केन्द्रीय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने कुरामा दुई मत छैन । पार्टी सभापति लोकतान्त्रिक आन्दोलनमा लगातार लड्नुभएको छ । शाहीकालमा उहाँलाई अनेकौँ लाञ्छना लगाएर डेमोरलाइज गर्ने कोसिस भयो, उहाँ हुनु भएन । अहिले पनि यस्तो भेटियो, उस्तो भेटियोदेखि लिएर पासपोर्ट लिएर भाग्दै थियो भन्ने अनर्गल प्रचार गरियो । उहाँ कुनै अपराधी होइन, अपराध गर्नुभएको छैन । पासपोर्ट लिने हरेक नेपालीको हक छ । पासपोर्ट लिनु नै अपराध भयो भन्नेजस्तो भाष्य सिर्जना गर्ने कोसिस गरिएको छ । उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन । उहाँले सांघातिक रूपमा हमला हुने नियोजित कुरा देख्दा देख्दै पनि घर छोड्नु भएन भने उहाँले देश छोड्नुपर्ने कुनै कारण छैन ।