२४ भदौको जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गर्दा ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङको भवन मर्मत भइरहेको छ । कार्यालय सञ्चालनका सामग्री जुटाउने काम पनि जारी छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवका अनुसार कार्यालय मर्मत र सामग्री जुटाउन राज्यकोषको बजेट खर्च भएको छैन, कार्यालयसँग बजेट पनि छैन । विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन् ।
कार्यालयमा आगजनी भएका कारण सीडीओ यादव कार्यालय परिसरमै रहेको सटरमा कार्यकक्ष बनाएर बसेका छन् ।
उनका अनुसार आगजनी र लुटपाटबाट जिल्ला प्रशासन कार्यालयका केही सामग्री बाँकी छैन । ‘कार्यालयमा केही सामग्री छैन, लुटपाट र आगजनी भयो,’ उनले भने, ‘लुटिएकोमध्ये एउटा प्रिन्टर फिर्ता आएको छ ।’
