प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवाल रकम असुली धन्दाको आरोपमा छानबिनमा तानिएका छन् । उनी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख हुन् ।
एसपी सिलवालमाथि जाँचका क्रममा चोरीका सवारी साधनको गैरकानुनी प्रयोग र चालकमाथि अभद्र व्यवहार गर्ने गरेको आरोप लागेको हो । एसपी सिलवालविरुद्ध मौखिक तथा लिखित गुनासो आएपछि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले छानबिन थालेको हो ।
प्रदेश प्रमुख डीआईजी उमाप्रसाद चर्तुवेदीले सिलवालमाथि प्रदेश कार्यालयले आन्तरिक छानबिन गरिरहेको जानकारी दिए ।
डीआईजी चतुर्वेदीले भने, ‘‘एसपी सिलवालमाथि छानबिन भइरहेको छ । हामीलाई धेरै व्यक्तिले मौखिक तथा लिखित रुपमै गुनासो गरेपछि छानबिन थालेका छौँ । एसपी सिलवालविरुद्ध ३५ वटा गम्भीर प्रकृतिका गुनासो आएपछि छानबिन थालेका हौँ ।’’
डीआईजी चतुर्वेदीका अनुसार, सिलवालमाथि छानबिन गर्न प्रदेश कार्यालयले पाँचवटा छुट्टाछुटै समिति बनाएको छ । सिलवालले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका चालकलाई जरिवाना तिराउँदै सवारी छाड्न लगाइ घर पठाउनुपर्नेमा कानुनविपरीत थुनामा राख्ने गरेको खुलेको छ ।
त्यसरी चोरीका सवारी साधन गैरकानुनी प्रयोग गर्ने, अवैध मालसामान बोकेका सवारी साधनलाई आर्थिक प्रभावमा परेर जाँच नगर्ने जस्ता गम्भीर उजुरी उनीविरुद्ध परेको छ । ट्रान्सपोर्ट कम्पनीका ट्रक रोकेर गैरकानुनी तरिकाले रकम असुली गर्ने गरेको गुनासो उनीमाथि छ ।
एसपी सिलवालले भारतीय नम्बर प्लेटका गाडीहरुलाई प्रवेशमा कडाइका नाममा रकम असुली गर्ने गरेको उजुरी आएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यसो त, एसपी सिलवाल यसअघि पनि पटक–पटक विवादमा आइरहने प्रहरी अधिकारी हुन् । यसअघि पनि उनीमाथि मिटरब्याजमा रकम लगाउने गरेको आरोप लागेको थियो ।
एसपी सिलवाल ‘चेन अफ कमान्ड’मा समेत नचल्ने प्रवृत्ति रहेको एक अधिकारी रहेको बताउँछन् । ती अधिकारीले भने, ‘‘संगठनले यस्ता प्रवृत्ति भएका प्रहरी अधिकारीलाई जिम्मेवारी दिँदा अलि ख्याल गर्नुपर्ने हुन्छ ।’’
एसपी सिलवाल यसअघि जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रमुख समेत थिए ।
एसपी सिलवालले भने आफूमाथि किन समिति बन्यो भन्नेबारे जानकारी नै नभएको बताए ।
उनले भने,‘‘खै समिति के कति बन्यो मलाई थाहा छैन् । मापसे गरेकालाई थुन्यो भन्ने कुरा सही होइन । होल्ड गरेर छाडिएका हुन् । अन्य कुरामा हाम्रो कमजोरी छैन । के मनसायले समिति बन्यो त्यो त थाहा हुने कुरा भएन ।’’
