रुसको कामचटकामा ४ मिटर अग्लो सुनामी आएको छ । बुधबार बिहान गएको ८.७ म्याग्निच्युडको भूकम्पपछि कामचटकामा ४ मिटर अग्लो सुनामी आएको हो । सुनामीले धेरै भवनहरू क्षतिग्रस्त भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
समाचारअनुसार कामचटकाको गभर्नर भ्लादिमिर सोलोडोभले एक भिडियो पोस्ट गर्दै आजको भूकम्प दशकौंमा सबैभन्दा शक्तिशाली भएको बताए। उनले एउटा बालवाडीमा क्षति पुगेको बताए । मानिसहरूलाई सुरक्षित स्थानहरूमा सार्न चेतावनी जारी गरिएको छ।यसैगरी, जापानमा पनि सुनामी आएको छ । जापानको एनएचके टेलिभिजनका अनुसार देशको पूर्वी तट नजिक १ फिट अग्लो सुनामी छालहरू उठेका छन् । जापान ‘प्यासिफिक रिङ अफ फायर’ को भाग हो। यो विश्वमा सबैभन्दा धेरै भूकम्प जाने देशहरू मध्ये एक हो।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनबाट १९.३ किलोमिटर गहिराइमा थियो । एजेन्सीका अनुसार नेपाली सयानुसार बिहान ५ बजेतिर भूकम्प आएको थियो ।
जुलाईको शुरूमै कामचट्का नजिकैको समुद्रमा पाँचवटा शक्तिशाली भूकम्प गएका थिए । यी भूकम्पहरूमध्ये सबैभन्दा ठूलोको परिमाण ७.४ थियो । भूकम्पको केन्द्रबिन्दु जमिनबाट २० किलोमिटर गहिराइमा थियो। नोभेम्बर ४, १९५२ मा कामचट्का ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
अमेरिकाको अलास्कामा रहेको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले अलास्काको अलेउटियन टापुहरूका केही भागहरूको लागि सुनामीको चेतावनी जारी गरेको छ । यसले क्यालिफोर्निया, ओरेगन, वाशिंगटन र हवाई सहित पश्चिमी तटका केही भागहरूको लागि निगरानी चेतावनी पनि जारी गरेको हो ।



