अर्थतन्त्रको ठूलो प्रभाव पार्ने मेगा–प्रोजेक्टहरूमा भने सरकारले यस वर्ष पनि आफ्नो उपस्थिति बलियो रूपमा देखाउन सकेन । खासगरी सडक पूर्वाधार निर्माण सम्पन्न भएको ढिलाइले मुलुकको अर्थतन्त्रको लागत मात्रै बढाएको छैन, जनताले ठूलो सास्ती बेहोरिरहेका छन् ।
बुटवल–नारायणघाट, काठमाडौं–मुग्लिङ, मुग्लिङ पोखरा, सिद्धबाबा सुरुङ मात्रै होइन, अन्य धेरै सडकहरूको पुनर्निर्माणले सडक यातायात कष्टदायी भयो । बीपी राजमार्ग लगायत बाढी पहिरोले बगाएको सडकको पुनर्निर्माणको पहल पर्याप्त हुन सकेन ।
विनयी खोलामा ६ महिनाकै अवधिमा एक पुल निर्माण र त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको कामलाई गति दिनुबाहेक अन्य आयोजनामा र लामो समय र नियमित प्रक्रियाबाट सम्पन्न भएका बाहेक सरकारले गति दिएर आयोजना सम्पन्न भएको उदाहरण प्रस्तुत गर्न सकेन ।
बुटवल–नारायणघाट सडक खण्ड अन्तर्गत दाउन्ने खण्डमा जनताले ठूलो सास्ती बेहोर्नु परिरहेको छ । मुग्लिङ–काठमाडौं सडकको गति सुस्त छ । सिंचाइ आयोजनाहरू यस वर्ष पनि अधुरै रहे । निर्माण सकिएका दुई अन्तर्राष्ट्रिय विमानस्थललाई सामान्य सञ्चालनमा ल्याउन समेत सरकार असफल देखिएको छ ।
मेलम्ची खानेपानी आयोजनालाई बाह्रै मास वितरणमा ल्याउन सकिएको छैन । नेपाल एयरलाइन्स सहितका संस्थानहरूका निकम्मा व्यवस्थापक राखेर कामचलाउ सञ्चालन गरिरहेको सरकारले यी संस्थानहरूलाई नाफामा लैजाने गरी कुनै काम गर्न सकेन ।
ग्रान्ड को–अलिसनले देशको विकास र राजनीतिक स्थिरतामा राम्रो योगदान गरे पनि सरकारमा रहने दलका लागि त्यो अत्यन्तै जोखिमपूर्ण हुने अध्ययनहरूले देखाएका छन् । एकातिर त्यसले प्रजातान्त्रिक अभ्यासलाई कमजोर बनाउँछ भने अर्कातिर यसमा सहभागी दलहरू त्यसपछिको निर्वाचनमा हार्ने सम्भावना बढी हुने क्याम्ब्रिज विश्वविद्यालयले गरेको एक अध्ययनले देखाएको छ । त्यसो हुँदा ग्रान्ड को–अलिसनलाई मूलधारका राजनीतिक दलहरूले अन्तिम विकल्पका रूपमा प्रयोग गर्ने परम्परागत अभ्यास हो ।
‘ग्रान्ड को–अलिसनमा सहभागी भएका मूलधारका दलहरूलाई यसले फाइदा नपुर्याउने अध्ययनहरूले देखाएका छन्, बरु मतदाताहरूले यसलाई मन नपराई सहभागी दलहरूलाई सजाय दिने गरेका छन् । ग्रान्ड को–अलिसनलाई देशको समस्या समाधान गर्ने तथा अतिवादी दलहरूलाई प्रतिरोध गर्ने उपकरणका रूपमा हेरिए पनि यसमा सहभागी ठूला र साना दुवै दलहरूलाई मतदाताले अर्को निर्वाचनमा सजाय दिन्छन्’ इटालियन पोलिटल साइन्स रिभ्युमा प्रकाशित ‘लुजर्स टुगेदर: ग्रान्ड को–अलिसन्स इन द ईयू मेम्बर स्टेट्स’मा मार्के मोरोनी र म्याथ्यु लोभलेसले लेखेका छन् ।
यसले के देखाउँछ भने यो ग्रान्ड को–अलिसन बनाएर कांग्रेस एमालेले ठूलो जोखिम मोलेका हुन् । तर, अर्थतन्त्रले त्यसको लाभ नपाउने हो भने यसको औचित्य पनि समाप्त हुनेछ ।
