प्रदेश सभा सदस्यको तजबिजमा सिफारिस भएका योजनाका लागि लुम्बिनी प्रदेश सरकारले जनही ३ करोड रुपैयाँसम्म बजेट छुट्ट्याउने तयारी गरेको छ ।
कार्यकर्ता पाल्ने/पोस्ने गरी छानेका योजनाका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रत्यक्ष निर्वाचित सांसदका लागि ३ करोड र समानुपातिक सांसदका लागि १ करोड १० लाखका दरले बजेट बाँड्ने तयारी गरेका हुन् । मोडालिटी फेरेर खारेज भएको ‘संसद् विकास कोष’जस्तै ‘पकेट मनी’ को झल्को दिने गरी सांसदका योजनाका लागि बजेट उपलब्ध गराउने तयारीमा लुम्बिनी सरकार लागेको हो ।
यस्ता कार्यक्रमको बजेट धारा, कुवा, मन्दिर, बगैँचा र संघ–संस्थाका नाममा छुट्ट्याइँदा राज्य कोषको अधिकांश रकम दुरूपयोग भएको भन्दै चौतर्फी आलोचना छ ।
चालू आर्थिक वर्ष २०८१/०८२ मा प्रत्यक्ष निर्वाचित सांसदलाई २ करोड ७५ लाख र समानुपातिक सांसदलाई ७५ लाखका दरले छुट्ट्याएको प्रदेश सरकारले अहिले त्यसलाई बढाउन लागेको सांसदहरू बताउँछन् ।
आर्थिक वर्ष २०७९/०८० मा प्रत्यक्षका लागि प्रतिसांसद २ करोड २५ लाख र समानुपातिकका लागि ७५ बजेट छुट्टाएको थियो । लुम्बिनीका १२ जिल्लाका ५२ निर्वाचन क्षेत्रबा एक–एक र समानुपातिक ३५ गरी ८७ प्रदेश सभा सदस्य छन् ।
सांसदका माग र अगुवाइमा छानेका कार्यक्रमका लागि लुम्बिनी प्रदेशको कूल बजेटको १० प्रतिशतसम्म अर्थात ३ अर्ब रूपैयाँभन्दा बढी बजेट जान्छ ।
नेपाली कांग्रेसका पूर्व सचेतक तथा सांसद निमा गिरीले प्रदेश सरकारले समानुपातिक सांसदलाई ‘सम्मानपूर्ण अपमान’ गरेको बताइन् ।
‘विकास निड बेसिसका आधारमा हुनुपर्छ,’ सांसद गिरीले भनिन्, ‘म त कुनै पनि सांसदलाई बजेट दिनुहुँदैन भन्छु । यदि दिने हो भने सबैलाई सम्मानजनक हुनुपर्यो । समानुपातिक र प्रत्यक्ष सांसद एउटै होइन र ? सबैलाई समानरूपमा योजनाका लागि बजेट विनियोजन हुनुपर्छ ।’
उनले थपिन्, ‘प्रत्यक्ष निर्वाचित सांसदलाई सर्शतसहित सवा ३ करोड रुपैयाँसम्म जान्छ । हामी लडेर गत वर्ष समानुपातिकलाई ७५ लाख रुपैयाँसम्म सरकारले दिन थालेको हो । अहिले १ करोड १० लाखसम्मका योजना छान्न भनेको छ । समानुपातिक सांसदको दायित्व झन् धेरै हुन्छ । तर, हामीलाई अपमान र विभेद छ,’ गिरीले थपिन् ।
सत्तापक्ष र प्रतिपक्षका समानुपातिक सांसदले आफूहरूलाई विभेद भइरहेको भन्दै बजेट विनियोजन समान रूपमा हुनुपर्ने भनेर दबाब बढाएका छन् ।
प्रदेशको आन्तरिक स्रोत खुम्चिएका बेला योजनाबद्ध सुशासन र जवाफदेहितातर्फ सरकारले ध्यान दिएको छैन । सांसदका योजनाका शीर्षक र अवधारणमा टेकेर घुमाउरो पाराले ‘संसद विकास कोष’जस्तै कार्यक्रम लुम्बिनीमा रोकिन सकेको छैन ।
सांसदको ध्यान नीति निर्माणमा भन्दा योजना माग्नमा केन्द्रित देखिन्छ । लुम्बिनी प्रदेश योजना आयोगका सदस्य तथा अर्थविद् डा. सुदनकुमार वलीले सांसदहरूको सिफारिसका आधारमा योजना छनोट गर्ने अभ्यास गलत रहेको बताए ।
‘सांसदलाई छनोट गर्न दिएका योजना प्रभावकारी देखिँदैनन्,’ डा.वलीले भने, ‘हाम्रा माननीयहरूले अहिलेसम्म कार्यकारी र विधायिकी भूमिका बुझ्नुभएन । सांसदहरूले विकासको डोको बोक्न छाड्नुपर्छ । सांसदहरूको भूमिका विधायिकी हो, योजना मागेर विकास गर्ने होइन ।’
सांसदलाई विकास गर्ने माध्यम बनाउँदासम्म देशमा सुशासन नहुने वलीको बुझाइ छ ।
योजना छनोट गर्दा शिक्षा, स्वास्थ्य, पूर्वाधार र उत्पादनसँग जोडिएका योजना अनिवार्य समेट्नु पर्नेछ । अन्यबाट पनि बढीमा १० योजना सिफारिस गर्न पाउने मापदण्ड बनाइएको छ । एउटा योजना कम्तीमा २५ लाख रूपैयाँको हुनुपर्ने निर्देशन दिइएको छ ।
राज्यको रकम व्यक्तिमार्फत खर्च गर्न नहुने भन्दै जनताले विरोध गर्दै आएका छन् । यता सांसदहरूले नियमित कार्यक्रमले समेट्न नसकेका योजनामा बजेट खर्च हुने बताउँदै आएका छन् ।
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका प्रमुख सचेतक इन्द्रजीत थारूले सरकारका प्राथामिकता र आवधिक योजनासँग मेल खाने गरी कार्यक्रम छनोट हुने गरेको बताए ।
‘योजना छान्न पाउने सांसदहरूको अधिकार हो,’ थारुले भने, ‘प्रदेशको क्राइटेरियाभित्र रहेर योजना छान्ने हो । योजना हामीले छाने पनि कार्यान्वन गर्ने सरकारी कर्मचारीले नै हो । आवश्यकतामा आधारमा मैले सिचाइँ, शिक्षा र स्वास्थ्यका योजना छनोट गर्दै आएको छु ।’
प्रदेशसभा सदस्यका नाममा सञ्चालन गरिएका योजना/कार्यक्रम (बजेट) स्थानीय तहलाई दिइएको विकास निर्माणको कामप्रति हस्तक्षेप रूपमा समेत व्याख्या गरिएको छ । नगरपालिका महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष खिलध्वज पन्थीले सांसदका योजनाका लागि बजेट छुट्ट्याउनु संघीयता र संविधानको बर्खिलाप भएको बताउँछन् ।
वित्तीय हस्तान्तरणका कार्यक्रम स्थानीय तहको माग र आवश्यकताका आधारमा हुनुपर्नेसहितका माग राखेर मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापन पत्र बुझाइएको पन्थीले बताए ।
‘सांसदले विकास गर्ने भन्ने भाष्य निर्माण गरेर योजना जति सांसदले छान्ने गलत परिपाटी अन्त्य नगरेसम्म संघीयतको अभ्यास हुँदैन,’ उनले भने, ‘स्थानीय आवश्यकता के हो भन्नेबारेको समन्वय स्थानीय तहमा हुनुपर्छ भन्ने हो ।’
प्रदेश सरकारका प्रवक्ता दिनेश पन्थीले प्रदेशसभा सदस्यका मतदाताको आवश्यकतालाई सम्बोधन गर्नेगरी योजनाका लागि बजेट जाने बताए ।
‘साना र टुक्रे योजना आवश्यकता भए समेट्नुपर्ने पनि हुन्छ,’ पन्थी भन्छन्, ‘सबैको सुझाव र छलफलपछि योजना छनोट गर्न सांसदलाई भनिएको हो । केही वर्ष यस्ता कार्यक्रमको आवश्यकता होला, विस्तारै विकासमा फड्को मारेपछि आवश्यकता पर्दैनन् ।’
स्थानीय तहमा समन्वय नभएको भए त्यसलाई मापदण्ड बनाएरै समन्वय गर्ने विषयमा पनि छलफल भएको पन्थीको भनाइ छ । लुम्बिनी प्रदेश सरकारले आउँदो असार १ गते आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सदनमा प्रस्तुत गर्दैछ ।
अहिलेको बजेट कार्यान्वनमुखी आउने सरकारले बताएको छ । चालू आवका लागि ३८ अर्ब ९९ करोडको बजेट ल्याएको लुम्बिनी प्रदेशले आउँदो वर्षका लागि ३२ अर्बको मात्र सिलिङ तयार गरेको छ ।
