राष्ट्रपति पौडेलले आफ्ना प्रियजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पहलगाम आक्रमणको निन्दा गर्दै आतंकवाद विरुद्ध नेपाल भारतको साथमा रहेको जनाएका छन् ।
प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना । नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ र आतंकवादका कुनै पनि र सबै कार्यहरूको कडा निन्दा गर्दछ ।’
उनले सो घटनामा एक नेपाली नागरिक पनि मारिएको समाचार पुष्टि गर्ने प्रयास भइरहेको जानकारी पनि दिएका छन् । उनले लेखेका छन्, ‘पीडितहरूमा एक नेपाली नागरिक रहेको रिपोर्ट प्रमाणित गर्न निकट समन्वय स्थापित गरिएको छ र आवश्यक सबै सहयोग प्रदान गरिने छ ।
’मंगलबार जम्मुकश्मिरको पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरी आतंकवादी आक्रमण हुँदा नेपालीसहित कम्तिमा २७ जना मारिएको मिडिया रिपोर्ट सार्वजनिक भएका छन् ।
परराष्ट्र मन्त्रालयले के भन्यो ?
यस घटनाको परराष्ट्र मन्त्रालयले पनि भारतमा भएको आतंकवादी हमलाको भर्त्सना गरेको छ ।
‘नेपालले जम्मु तथा कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूलाई लक्षित गरी गरिएको बर्बर आतंकवादी हमलाको घोर भत्र्सना गर्दछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘शोकाकुल परिवारहरूप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौं र घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना गर्दछौं ।’
मन्त्रालयले शोकको यस घडीमा भारत सरकार तथा भारतीय जनताप्रति नेपालले ऐक्यबद्धता प्रकट गरेको पनि उल्लेख गरेको छ ।
आतंकवादप्रति नेपालको अडान स्पष्ट रहेको उल्लेख गर्दै भनिएको छ, ‘नेपाल सबै प्रकारका आतंककारी कार्यहरूको कडा शब्दमा भर्त्सना गर्दछ र यस्ता जघन्य कृत्यहरू कुनै पनि आधारमा जायज हुन सक्दैनन् भन्ने दृढ विश्वास राख्दछ ।’



