वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा शुक्रबार बिहान काठमाडौँ आइपुगेका छन्।
कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेट हेर्न क्रिकेटर लारा बिहान ९:१५ बजे काठमाडौँ अवतरण गरेका हुन्। छोरीसहित नेपाल आएका लारा ३ दिन नेपाल बस्नेछन् । उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
वेस्ट इन्डिजका क्रिकेट खेलाडी लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ ।
५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन् ।
यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी-२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै उनले आफू नेपाल आउन चाहेको बताएका थिए ।
नेपाल विश्वकपमा छनोट भएको केही समयपछि एक नेपाली क्रिकेट फ्यानसँगको ट्वीट सम्वादमा उनले नेपाली टोलीको प्रशंसा गरेका थिए ।
त्यसपछि उनले ट्वीट गर्दै नेपाली टोलीको खेल चमत्कारिक रहेको भन्दै बर्मुडामा खेल हेर्दा नै आफू प्रभावित भएको बताएका थिए ।
लाराले वेस्टइन्डिजका लागि १३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने २९९ ओडिआई खेल्दा १० हजारभन्दा धेरै रन बनाएका छन् ।
उनले वेस्टइन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफी समेत जितेका छन् । उनी क्रिकेट जगतमा ‘द प्रिन्स’ उपनामले परिचित छन् ।
लाराले सन् १९९० देखि २००७ सम्म वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट खेलेका थिए । सन् २००७ को अप्रिल २१ मा उनले अन्तिम एकदिवसीय खेलेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।
