पप ब्याण्ड वन डाइरेक्शनसँग आवद्ध चर्चित गायक लियाम पेनेको अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा निधन भएको छ।

३१ वर्षीय पेन होटलको तेस्रो तलाबाट खस्दा मृत्यु भएको बीबीसीले जनाएको छ। उनको जन्म सन् १९९३ मा बेलायतमा भएको थियो।

लियाम पेनको मृत्युको खबर फैलिने बित्तिकै उनका धेरै फ्यानहरू होटल बाहिर भेला हुन थालेका जनाइएको छ। जसका कारण प्रहरीले घटनास्थल घेराबन्दी गर्नुपरेको थियो ।

ब्यूनस आयर्स प्रहरीका अनुसार घटनास्थलमा रहेका प्रहरी अधिकारीहरूले गरेको प्रारम्भिक अनुसन्धानले लियाम पेनले सम्भवतः लागूपदार्थ र मदिराको सेवन गरेका देखाएको छ।
उनको पोस्ट मार्टमपछि अन्य जानकारी आउने सञ्चारमाध्यममा जनाइएको छ।

आपतकालीन चिकित्सा सेवाका निर्देशक अल्बर्टो क्रिसेन्टीले पेनलाई ‘गम्भीर चोट’ लागेको र पोस्टमार्टम गरिने कुरा स्थानीय मिडियालाई बताएका छन्।

पेन लोकप्रिय ब्वाइ ब्यान्ड ‘वन डाइरेक्सन’को पूर्व-सदस्यको रूपमा परिचित छन्, जुन सन् २०१०  मा ‘द एक्स फ्याक्टर’मा गठन भएको थियो। ह्यारी स्टाइल्स, लुइस टमलिन्सन, नियाल होरान र जेन मलिक जस्ता कलाकारहरू पनि यस समूहसँग जोडिएका छन्। यस ब्यान्डले २०११ मा ‘अप अल नाइट’ र २०१५ मा ‘मेड इन द एएम’सहित पाँच वटा एल्बमहरू रिलिज गरेको थियो।

सन् २०१५ मा ब्यान्ड विभाजित भएपछि, पेनले एकल करियर शुरू गरे र २०१७ मा ‘स्ट्रिप द डाउन’ गीत रिलिज गरे। उनले २०१९ मा एल्बम ‘एलपीवन’ पनि जारी गरे।

यस महिनाको शुरूमा, पेनले आफ्नो पूर्व वन डिरेक्सन ब्यान्डका नियाल होरानको अर्जेन्टिना कन्सर्टमा पनि भाग लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय