जनकपुरधाममा अहिले सीताराम विवाहपञ्चमी महोत्सवको रौनक छ । चोक चोकमा मिथिला विवाहमा बजाइने गीतहरु गुञ्जमान भइरहेका छन् । विवाह महोत्सवलाई मध्य नजर गर्दै यहाँ तीन दिनसम्म दीपावली मनाउन जनकपुरधाम तथा सीमासंग जोडिएका गाउँहरुमा आग्रह गरिएको छ । त्रेतायुगमा भगवान् राम र जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप विवाहपञ्चमी मनाइँदै आएको छ ।
जनकपुरधाममा भगवान् राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सप्ताहव्यापी रामजानकी विवाह महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको छ । यसपालि मंसिर २६ गतेदेखि पुस २ गतेसम्म सप्ताहव्यापीरुपमा मनाइने श्रीराम जानकी विवाह महोत्सवका लागि स्वागतद्वार, पण्डाल निर्माण तथा विवाह सामग्री किनमेल गरिएको छ ।
अयोध्या नरेश दशरथको भूमिकामा जनकपुरधामस्थित राम मन्दिरका महन्त राम गिरीको नेतृत्वमा पौराणिक व्यवस्थाअनुरुप बिहेको जन्ती बाजागाजा र स्वर्णिम झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष सिंहासनमा राखी रङ्गभूमि मैदानमा पु¥याइन्छ । यस्तै जानकी मन्दिरबाट मिथिला नरेश जनकको भूमिकामा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवको नेतृत्वमा जानकीको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी सोही रङ्गभूमि मैदानमा पु¥याइन्छ । भगवान् रामको स्वर्णिम डोलालाई जानकीको विशेष सुसज्जित डोलाले पाँचपटक परिक्रमा एवम् आरती पूजन गरेपछि स्वयंवर कार्यक्रम सम्पन्न हुने धार्मिक परम्परा रही आएको छ । विवाहपञ्चमी महोत्सवको पहिलो दिन मंगलबार जानकी मन्दिर प्राङ्गणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाइ घुमाएर नगर दर्शन गराइएको थियो । यस्तै, दोस्रो दिन बुधबार फूलबारी लीला, तेस्रो दिन बिहीबार धनुष यज्ञ, चौथो दिन शुक्रबार तिलकोत्सव, पाँचौँ दिन मंसिर ३० गते मटकोर र पुस १ गते सीताराम स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । यस उत्सवलाई थप उल्लासमय बनाउन संस्कृति क्षेत्रका सरोकारवालाहरुले आग्रह गरिरहेका छन् ।
विवाह पञ्चमी महोत्सवलाइ मध्यनजर गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । विवाहपञ्चमी अवधिभर जनकपुरधाममा माछामासु बेचविखनमा रोक लगाइएको छ ।
महोत्सवको अन्तिम दिन आगामी पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीका रुपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ । विवाहपञ्चमी महोत्सवमा यस वर्ष ऐतिहासिक रङ्गभूमि मैदानमा सीतारामको प्रतिमा निर्माण गर्न लागिएको छ । गोस्वामी तुलसी दासकृत रामायणमा वर्णित भएअनुसार मिथिला नरेश राजर्षि जनकद्वारा गरिएको प्रतिज्ञालाई अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम भगवान् रामले धनुष तोडेर पूरा गरेकाले जानकीको विवाह रामसँग भएको थियो । यसै उपलक्ष्यमा विवाहको उत्सवलाई प्रगाढ बनाउने गरिएको छ ।



