संसदीय अंकगणितका कारण कोशी प्रदेश सरकारले विश्वासको मत पाउने अवस्था छैन । असोज २० गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्की आफू नेतृत्वको सरकारको टुंगो नगरी मन्त्री थपिरहेका छन् । आफू नेतृत्वको सरकारलाई बलियो बनाउन मन्त्री थप्ने कार्कीको योजनामा सरकारको टुंगो नहुँदै मन्त्री बन्नेहरुको पनि होड छ ।

सोमबार मात्रै चार जना मन्त्री थपिए । योसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ९ सदस्यीय बनेको छ । जसमा मुख्यमन्त्री, पाँच मन्त्री र तीन जना राज्यमन्त्री छन् । सोमबार नियुक्त भएका मन्त्री बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्री भए । लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री भए । रामप्रसाद महतो उद्योग, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भए ।

यसअघि नै नियुक्त मन्त्रीहरु तिलकुमार मेन्याङ्बो स्वास्थ्य, पाँचकर्ण राई पर्यटन, वन तथा वातावरण, एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास मन्त्रालय राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । यसअघि मेन्याङ्बो खानेपानी, सिँचाइ तथा उर्जामन्त्री रहेका थिए ।
सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ मा संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त एमाले नेता कार्कीले असोज २० भित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । हालसम्म एमाले नेतृत्वको सरकारमा अन्य कुनै दल सामेल भएका छैनन् । साथ दिँदै आएको राप्रपाले समेत सरकारमा सहभागी बन्न इन्कार गरेपछि मुख्यमन्त्री कार्कीले एमालेबाट मात्रै मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहितको गठबन्धनले वर्तमान सरकारलाई साथ नदिने बताइसकेको र राप्रपा सहभागी नभएपछि कार्की नेतृत्वको सरकारले विश्वासको मत  पाउने सम्भावना कम छ । तथापि, मन्त्री बन्ने र बनाउनेको होड कोशी प्रदेशमा चलिरहेको छ ।

कोशीमा एमालेसहितको सरकार उपयुक्त : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापा कोशी प्रदेशमा नेकपा एमालेसहितको सरकार उपयुक्त रहेको बताउँछन् ।

संसदीय अंकगणितका कारण कोशी प्रदेशमा फरक ढंगले सोच्नुपर्ने उनको राय छ । उनले भनेका छन्, ‘कोशीको अहिलेको संवेदनशीलता हेरेर एमाले समेतको सरकार बनाएर जान उपयुक्त हुन्छ ।’

कोशीमा कांग्रेसका उद्धव थापाको नेतृत्वमा बनेको गठबन्धनको सरकार दुवै पटक सर्वोच्च अदालतको आदेशमा बदर भएको थियो । पछिल्लो पटक ४ भदौमा थापाले लिएको विश्वासको मतलाई अवैधानिक भन्दै अदालतले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्तिको परमादेश दिएको थियो ।

कांग्रेसकै केन्द्रीय सदस्य भीम पराजुली कोशी प्रदेशमा सरकारको स्थिरताका लागि राप्रपासँग निर्णायक वार्ता आवश्यक रहेको बताउँछन् । कोशी प्रदेशको सरकार गठन सन्दर्भमा राप्रपासँग तालमेल नगरीकन अघि बे पटक पटक अस्थिरता दोहोरिने उनको भनाइ छ ।Madhyanha

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय