कोशी प्रदेशमा बलियो उपस्थिति जनाउँदै आएको नेकपा (एमाले) प्रदेश अधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।
असोज १२ र १३ गते प्रदेश राजधानी विराटनगरमा अधिवेशन आयोजना हुने सो दलले जनाएको छ । अधिवेशनको तयारीलाई तीब्रता दिइरहेको एमालेले सबै जिल्लाबाट प्रतिनिधि छान्ने काम करिब सम्पन्न गरिसकेको छ । सुनसरी र उदयपुर जिल्लाका केही पालिकाबाहेक सबै जिल्लाबाट प्रतिनिधि निर्वाचित भइसकेको एमाले कोशी प्रदेशका सचिव चिन्तम पाठकले जानकारी दिनुभयो ।
कोशी प्रदेशको अधिवेशनमा एक हजार ४७ जना प्रतिनिधि स्थानीय तह र संगठनबाट छानिएर आउने व्यवस्था गरिएको छ । पार्टी सदस्य संख्याका आधारमा प्रतिनिधि संख्या निर्धारण गरेको सचिव पाठकले जानकारी दिनुभयो । जनवर्गीय संगठन र भूगोलबाट निर्वाचित भएर आउने बाहेक प्रदेश कमिटीले ५० जना सदस्य मनोनित गर्ने व्यवस्था छ । सबै जिल्लाबाट प्रतिनिधि छानिइसकेपछि मात्र प्रदेशले मनोनित गर्ने जनाइएको छ ।
कोशी प्रदेश अधिवेशनमा ताप्लेजुङ जिल्लाबाट ४८, पाँचथरबाट ३०, इलामबाट ७७, झापाबाट १८१, तेह्रथुमबाट ४३, संखुवासभाबाट ३९, भोजपुरबाट २७, धनकुटाबाट ७२, सुनसरीबाट ९६ र मोरङबाट १७८ जना प्रतिनिधि सहभागी हुने व्यवस्था छ ।
यसैगरी सोलुखुम्बुबाट १६, ओखलढुंगाबाट ४२, खोटाङबाट ५६ र उदयपुर जिल्लाबाट ३६ जना प्रतिनिधि आउने व्यवस्था गरिएको छ । विभिन्न जनसंगठनले ५६ जना प्रतिनिधि पठाउने छन् । त्यसमध्ये मजदुर संगठनका लागि ३२ जना प्रतिनिधिको कोटा दिएको एमालेले जनाएको छ ।
अध्यक्षका चार आकांक्षी
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको अध्यक्ष पदका लागि चार जना नेताहरु मैदानमा उत्रिनुभएको छ । आकांक्षीमध्ये मोरङबाट दुई जना हुनुहुन्छ । पार्टीका केन्द्रीय सदस्य विनोद ढकाल र घनश्याम खतिवडाले प्रदेश कमिटीको नेतृत्वका लागि तयारी गरिरहनुभएको छ । यसैगरी वर्तमान अध्यक्ष तुलसी न्यौपाने र उपाध्यक्ष टीका चेम्जोङ्ग पनि अध्यक्ष पदका लागि प्रतिस्पर्धामा हुनुहुन्छ ।
एमालेले कोशी प्रदेशमा सहमतिमा सर्वसम्मत नेतृतव निर्वाचित गर्ने जनाएको छ । तर केही समयअघि लुम्बिनी प्रदेशमा सर्वसहमतिको प्रयत्न सार्थक बन्न नसकेको परिवेशमा कोशीमा पनि निर्वाचनबाटै नेतृत्व छानिने सम्भावना बढी रहेको नेताहरुले बताउनुभएको छ ।
अध्यक्ष पदमा दाबी गरिरहनुभएका अधिकांश नेताहरुले पार्टी अध्यक्षबाट समर्थन लिने प्रयत्न गरिरहनुभएको छ । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म कसैलाई पनि समर्थन नगरिसकेकाले आकांक्षी नेताहरु आन्तरिक तयारीलाई तीब्र बनाई बहुसंख्यक प्रतिनिधिको समर्थन आफ्नो पक्षमा पार्न कसरत गरिरहनुभएको छ ।
