काठमाडौँ। नेपाल सरकार, लगानी बोर्डको कार्यालयले बिहीबार (असोज २९ गते) कार्यालयमा घटेको एक घटनालाई लिएर सञ्चारमाध्यममा फैलाइएको प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले एक प्रेस नोट जारी गर्दै ‘एचटिपी खबरका पत्रकार दिवाकर साहले फैलाएको उक्त समाचारलाई भ्रामक र तथ्यहीन भन्दै त्यसको घोर भर्त्सना गरेको छ।
विज्ञप्तिअनुसार, बिहीबार बेलुका ४:३० बजे कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित बोर्डका कर्मचारीहरू महत्त्वपूर्ण बैठकमा व्यस्त रहेको समयमा साह कुनै अनुमति वा जानकारी बिना अचानक त्यहाँ प्रवेश गरेका थिए। त्यसपछि उनले “ठेकेदारबाट रक्सी, आइफोन, मिठाइसहित उपहार” लिएको भन्दै कार्यालयका कर्मचारीहरूमाथि गम्भीर आरोप लगाएर दुर्व्यवहार गरेका थिए र सोही भिडियो युट्युब च्यानलबाट सम्प्रेषण गरेका थिए।
कार्यालयले स्पष्ट पारेको छ कि बैठक हलमा अनुमति बिना प्रवेश गरी भिडियो खिचेपछि साहले क्यामेरा बन्द गरेर कर्मचारीहरूसँग छलफलसमेत गरेका थिए। बाहिरिने क्रममा उनले “तपाईंहरूको जानकारी बिना कार्यालयमा उपहार ल्याइएको रहेछ भन्ने मैले बल्ल बुझें” भनी स्वीकार गरे तापनि पछि उक्त प्रसङ्ग भिडियोमा नराखी अफवाह फैलाएको बोर्डको आरोप छ।
वास्तविकता खोतल्दा, उक्त टोकरीहरू एक परियोजनाका प्रतिनिधिले बोर्डको अनुमति र जानकारी बिना नै कार्यालयमा ल्याएर राखेको पाइएको विज्ञप्तिमा उल्लेख छ। उक्त प्रतिनिधिसँग कुरा नगरी, उल्टै उनलाई कार्यालयको कर्मचारी भनी “लगानी बोर्डका कर्मचारीले ठेकेदारको उपहार लिएको” भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको बोर्डले जनाएको छ।
लगानी बोर्डको कार्यालयले कर्मचारीहरूका लागि यस किसिमको उपहार लिनेदिने कार्य कदापि स्वीकार्य नहुने स्पष्ट पारेको छ। साथै, कर्मचारीहरूको मानमर्दन गर्ने, मनोबल गिराउने र अनावश्यक विवादमा पार्ने यस्ता नियतवश गरिएका गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षसँग आग्रह गरिएको छ। अन्यथा, यसका विरुद्ध आवश्यक कानुनी उपचार खोज्न कार्यालय बाध्य हुने चेतावनी समेत सहसचिव एवम् प्रवक्ता भूपेन्द्र थापाद्वारा जारी विज्ञप्तिमा दिइएको छ।

