यो नयाँ वर्षबाट आइफोन प्रयोग गर्ने एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने भएका छन् । एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरे पश्चात एनसेलले अब आइओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको हो ।

कम्पनीका अनुसार दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो। यसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्छ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ । एनसेलका ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्ने कम्पनीको भनाइ छ । एनसेल भोल्टे सेवा लिने आइफोन प्रयोगकर्ताले २८ दिनका लागि मान्य हुने १०० मिनेट अन–नेट भोल्टे टक टाइम पाउने छन् ।

आइफोन ८ र त्यसपछिका आइफोन सिरिज प्रयोग गरिरहेका एनसेलका ग्राहकले भोल्टे सेवा लिन र १०० मिनेट बोनस टक टाइमका लागि योग्य हुन्छन् । भोल्टेका साथै एनसेलले आफ्नो नेटवर्कमा आइफोन प्रयोगकर्ता ग्राहकका लागि एउटा अर्को पनि योजना ल्याएको छ । यो योजनाअन्तर्गत आफ्नो भौतिक सिमलाई ई–सिममा अपग्रेड गर्ने ग्राहकले सात दिन मान्य रहने २ जिबी बोनस डेटा पाउँछन् । बोनस डेटा नेपालमा नै अवस्थित आइफोनको आधिकारिक बिक्रेतामार्फत आइफोन किनेका ग्राहकका लागि लागू हुनेछ ।

आइफोन प्रयोगकर्ताले १७१२५ डायल गरी आफ्नो सिमलाई ई–सिममा अपग्रेड गर्न सक्छन् । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्छ । ई–सिम सुरू गर्नुभन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्नेछन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्न कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ । अरू ग्राहकले आफ्नो नजिकैको एनसेलबाट नयाँ ई–सिम निःशुल्क लिन सक्ने छन् ।

एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवा लिन सकिन्छ । ग्राहकले यो सेवा लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने हुन्छ र फोरजी नेटवर्कमा रहेको हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय