सरकारले टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर भएर जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिने तयारी अगाडि बढाएको छ । चौधरीको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयमार्फत राष्ट्रपति कार्यालयमा पुगेको छ ।
टीकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।
संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।
सोहीअनुसार राष्ट्रपतिबाट गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते चौधरीलाई आम माफी दिने सरकारको तयारी छ ।
अब राष्ट्रपति कार्यालयको राय लिएपछि गृह मन्त्रालयले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछ । मन्त्रिपरिषद्बाट निर्णय गराई राष्ट्रपति कार्यालयले निर्णय गरेपछि मात्र कैद माफी मिनाहा हुन्छ ।



