सभामुखका लागि आज मनोनयन दर्ता हुँदै।
काठमाडौं : प्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ। आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।
प्रतिनिधि सभाका कुनै सांसदलाई सभामुख पदमा निर्वाचन गरियोस् भन्ने प्रस्तावको सूचना दर्ताका लागि संघीय संसदको ल्होत्से हल तोकिएको छ आजै सवा चार बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूचना दर्ता क्रम अनुसारको सूची प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको सभामुख चयन गर्न बिहीबार ११ बजे निर्वाचन हुने भएको छ । बिहीबार ११ बजे सुरु प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव पेस गर्ने र समर्थकले समर्थन गर्ने तथा उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल गरी निर्णयार्थ पेस हुने संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
सभामुख पदमा उम्मेदवारी दिने सांसदको एक प्रति फोटो र नेपाली नागरिकताको प्रतिलिपि हुनुपर्ने सचिवालयले जनाएको छ सचिवालयले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम सभामुख निर्वाचनको तालिका सार्वजनिक गरिएको हो।



