आज मन्त्रिपरिषद् विस्तार हुँदै, कुन दलको भागमा कति मन्त्रालय ?

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको संयन्त्रको बैठकले कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय टुंगो लगाएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका अनुसार मन्त्रालयको नाम भने मंगलबार सार्वजनिक हुनेछ । ‘कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषय टुङ्गिएको छ, तर मंगलबार आ-आफ्नो पार्टीमा छलफल भएपछि मात्रै सार्वजनिक हुन्छ,’ गृहमन्त्री लामिछानेले भने ।

स्रोतका अनुसार एमालेले ८ वटा मन्त्रालय, माओवादी केन्द्रले ४ मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले तीन/तीन वटा मन्त्रालय पाउने छन् । माओवादी केन्द्र, रास्वपा र राप्रपाले एक/एक राज्यमन्त्री पनि पाउने सहमति भएको बताइएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) ले दुई र जनमत पार्टीले एक मन्त्रालय पाउने भएका छन् । नयाँ मन्त्रीले आज दिउँसो सपथ लिने कार्यक्रम छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा झन्डै ५ घण्टा छलफल भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी अध्यक्ष प्रचण्डलाई गत १० पुसमा प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । विश्वासको मत पाएपछि प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका हुन् । अहिले आठ सदस्यीय मन्त्रिमण्डल छ । प्रधानमन्त्रीसहित सात मन्त्रीले ११ पुसमा पद तथा गोपनीयताको सपथ लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय