प्रतिनिधि र प्रदेशसभाको निर्वाचन समयमै गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री देउवा।
१५ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयभित्रै सम्पन्न गर्ने तयारी भइरहेको बताएका छन् । उनले दलहरुसंगको छलफल पछि निर्वाचनको मिति तोकिने बताएका छन् ।
६४ औं संसद दिवसको अवसरमा पूर्वसांसद मञ्चले बिहीबार संघीय संसद भवनमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै आगामी दिनमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन पनि समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले लोकतान्त्रिक प्रणालीमा अध्यावधिक निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री देउवाले भने, ’हामी लोकतान्त्रिक अभ्यासमा छौं । आवधिक निर्वाचन समयमा गरिनेछ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण तरिकाले समयमै गर्न सरकार प्रतिवद्ध रहेको छ ।’
मुलुकलाई विकास र स्थायित्वतिर लाने दायित्व सबैको भएको पनि प्रधानमन्त्री देउवाको भनाइ थियो । उनले जननिर्वाचित व्यवस्थाअनुसार नै सबै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । ’जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्त्वपूर्ण हो । अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो,’ उनले भने ।
प्रतिनिधिसभाको निर्वाचन आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो साता गर्ने तयारीमा सरकार रहेको छ । देउवाले संसद, संसदीय समितिको निर्देशनलाई सरकारले पालना एवं कार्यान्वयन गर्ने विश्वास दिलाए ।
कार्यत्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद विघटन गरेका कारण देशमा गैरदलीय प्रवृत्ति विकास भएको आरोप लगाए । उनले संसद राम्रोसँग चल्न र काम गर्न नपाउँदा गैरदलीय प्रवृत्ति बढ्ने बताए ।
‘कहिले काहिं हाम्रा नेताहरूलाई सनक चल्छ र संसद विघटन गरिदिन्छन्, अनि गैरदलीय प्रवृत्ति विकसित हुन्छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन ?’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको र अहिलेको संसदमा नेकपा एमालेले बारम्बार अवरोध गरिरहेकोप्रति खनालको भनाइ लक्षित थियो ।
यस्तै नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि भएका सबै पत्र संसदमा प्रस्तुत गर्न सरकारलाई आग्रह गरे । एसपीपीमा विवाद भएपछि केपी शर्मा ओली प्रधानमत्री भएको १५ दिनपछि नेपाली सेनाका प्रधानसेनापतिले २०१५ मा अमेरिकी दूतावासलाई देखेको पत्र सार्वजनिक भएको बताए ।
नेम्वाङले यो विषयलाई यत्तिकै छाड्न नहुने भन्दै सम्पूर्ण चिठीहरु रक्षा मन्त्रालयमा रहेको र सबै चिठी खारकखुरुक संसदमा प्रस्तुत गरिदिनुपर्ने बताए । आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई यही भनेको र उनले आउनुस् न कुरा गरौंला भनेको उनले सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा