मोरङको बुढीगंगा–५ का बेचन पण्डितका आँखा अचेल गाउँका भित्तामा टाँसिएका रङ्गीचङ्गी चुनावी पोस्टरमा भन्दा बढी आफ्नै मोबाइलको स्क्रिनमा अडिन्छन् । गाउँमा चुनाव लागेको छ, उम्मेदवारहरू हात जोड्दै दैलोमा आइपुग्छन् । तर, बेचनलाई ती उम्मेदवारका कुराले भन्दा बढी सात समुद्र पारिबाट आउने छोराछोरीको फोनले तान्छ ।
पहिले–पहिलेका चुनावमा बेचन आफैँ निर्णय गर्थे । गाउँका ठालु वा टाठाबाठाले जे भन्थे, त्यही आधारमा भोट खसाल्थे । छोराछोरीले कहिल्यै ‘फलानोलाई भोट हाल्नु’ भनेर अह्राउँदैनथे । तर, यसपालि समय बदलिएको छ । समयसँगै बेचनको ‘भोटिङ कमान्डर’ पनि बदलिएका हुन् ।
‘अहिले त छोराछोरीले उतैबाट आदेश गर्न थालेका छन्’, केही दिनअघि मोरङको ग्रामथानमा भेटिएका बेचनले भने, ‘यहाँ कसैले भोट मागेर पनि केही हुँदैन । छोराछोरीले यसपालि अस्ति नै भोट हाल्नेको टुंगो लगाइदिएका छन् ।’ कमाउने उनीहरू भएकाले उनीहरूले भनेको मानिदिनु बाध्यता रहेको उनले बताए ।
बेचन पण्डित एउटा प्रतिनिधि पात्र मात्र हुन् । अहिले नेपालका गाउँ–गाउँमा बेचनजस्तै हजारौँ बुवाआमाहरू ‘डिजिटल कमान्ड’को प्रतीक्षामा छन् । नेपालमा भोट माग्ने शैली बदलिएको छ । उम्मेदवारहरू मतदाताको घरमा पुग्नुअघि नै विदेशमा रहेका उनीहरूका सन्तानले ‘इमो’ वा ‘मेसेन्जर’बाट कसलाई भोट हाल्ने भन्ने निर्णय सुनाइसकेका हुन्छन् ।
नेपालको राजनीतिमा यसपटक एउटा अनौठो ट्रेन्ड देखिएको छ- चुनाव नेपालमा, तर चुनावी माहोल बनाउने ‘इन्जिन’ भने विदेशमा ।
विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसलाई ठूलो हतियार बनाएको छ । विदेशमा रहेका नेपाली युवाहरू जो परिवर्तनको हुटहुटीले छट्पटिएका छन्, उनीहरूले आफ्ना वृद्ध बाबुआमालाई फोन गरेर पुरानो दल त्याग्न दबाब दिइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहका चुनावी कमान्डरसमेत रहेका सशस्त्र प्रहरीका पूर्व एसपी भरत थापा यसलाई रणनीतिक रूपमा प्रयोग गरिएको स्वीकार्छन् । उनी भन्छन्, ‘हामीले विदेशमा बस्ने युवाहरूलाई सम्पर्क गरेर घरमा फोन गर्न र सम्झाइदिन आग्रह गर्ने गरेका छौँ । छोराछोरीले भनेको कुरा बाबुआमाले खासै काट्दैनन् । त्यसैले उनीहरूलाई फकाउने काम प्रभावकारी भइरहेको छ ।’
रास्वपाका एक नेताका अनुसार खाडी मुलुकमा श्रम गरिरहेका युवाहरूलाई त अझ भावनात्मक दबाबसम्म दिन लगाइन्छ । कतिपयले त घरमा फोन गरेर भन्छन्- यदि यसपालि पनि पुरानैलाई भोट हाल्यौँ भने हामी पैसा पठाउँदैनौँ । यसपटक रेमिट्यान्सको माध्यमबाट भोट बदल्ने रणनीतिमा नयाँ दलहरू रहेका छन् भने पुराना दलहरू त्यसलाई रोक्ने रणनीतिमा छन् ।
नयाँ दलहरूले प्रविधि र प्रवासलाई प्रयोग गरेपछि पुराना दलहरू पनि रक्षात्मक बनेका छन् । नेकपा एमालेजस्ता ठूला दलहरूले पनि अहिले ‘प्रवास कमान्ड’ शुरू गरेका छन् । झापा क्षेत्र नम्बर २ मा निवर्तमान सभामुख देवराज घिमिरेलाई जिताउन एमालेले पनि त्यस्तै जुक्ति निकालेको छ ।
चुनावी परिचालन कमिटीका संयोजक तथा कोशी प्रदेशका पूर्वमन्त्री एकराज कार्की भन्छन्, ‘हामीले हाम्रो क्षेत्रबाट विदेश गएका नेपालीहरूको नामावली र फोन नम्बर संकलन गरिरहेका छौँ । उनीहरूलाई पार्टीको एजेन्डा बुझाउने र उनीहरूमार्फत घरका सदस्यलाई भोट माग्न लगाउने काम भइरहेको छ ।’
नेपालको कुल गार्हस्थ्य उत्पादनमा ठूलो हिस्सा ओगट्ने रेमिट्यान्सले अहिले नेपालको राजनीतिलाई पनि प्रभाव पार्न थालेको छ । घर चलाउने खर्च विदेशबाट आउने भएपछि घरको निर्णय गर्ने अधिकार पनि बिस्तारै बाबुआमाबाट छोराछोरीमा सरेको छ ।
सामाजिक सञ्जालमा समेत विदेशमा बस्नेहरू नै बढी सक्रिय छन् । उनीहरूले टिकटक, फेसबुक र युट्युबमार्फत बनाउने माहोलले गाउँका मतदातालाई प्रभावित पारिरहेको छ । पहिला गाउँका चोक र चिया पसलमा हुने राजनीतिक बहस अहिले डिजिटल ग्रुपहरूमा सरेको छ । नेपालमा चुनाव हुँदा उम्मेदवारले मतदाता फकाउनु त सामान्य नै हो, तर यसपटक मतदाता होइन, ‘मतदाताका सन्तान’ फकाउने होड चलेको छ ।
बेचन पण्डितले भनेजस्तै, ‘कमाउनेले भनेको मान्नैपर्ने’ बाध्यता वा मायाले गर्दा यसपटकको मतपेटिकामा खस्ने धेरै भोटहरूको ‘रिमोट कन्ट्रोल’ विदेशमा छ ।
समाचार श्रोत : लोकान्तर डटकम





