सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) २३औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले बिहीबार आफ्नो बाइसौँ वार्षिकोत्सव मनाएको हो । २०६० माघ १२ गते तत्कालीन दूरसञ्चार संस्थानलाई कम्पनीको मोडेलमा रूपान्तरण गरेसँगै यो कम्पनीको स्थापना भएको थियो ।

दुई दशक भन्दा बढीको यो सेवाको क्रममा २ करोड १९ लाख मोबाइल ग्राहक, ४ लाख एफटीटीएच भ्वाइस सेवा, ३ लाख ७४ हजार एफटीटीएच डाटा सेवा तथा ७५ हजार आईपीटिभीका ग्राहक रहेको जनाएको छ ।

हाल टेलिकम क्षेत्रको ५४ प्रतिशत हिस्सा रहेको टेलिकमको देशा ७५३ वटै स्थानीय तहमा भ्वाइस नेटवर्क तथा हम्लाको ताँजाकोट र अदानचुली तथाद मुगुको सुरु कार्मारोड बाहेक अन्यत्र फोरजी सेवा सञ्चालन समेत भइसकेको टेलिकमले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३८ अर्ब १९ करोडको आम्दानी गरी ६ अर्ब नाफा गरेको र सरकारलाई १८ अर्ब ४६ करोड रुपैयाँ बराबरको राजस्व योगदान गरेको कम्पनीले जनाएको छ ।

उल्लेखित उपलब्धिको बाबजुद टेलिकम व्यवसाय सञ्चालनको गम्भीर मोडमा पुगेका छन् । निरन्तर रूपमा आम्दानी घट्दै गएको अवस्थामा वैकल्पिक उपाय विना टिक्नै मुस्किल हुने अवस्था सिर्जना भएको हो ।

भ्वाइस र एसएमएस जस्ता परम्परागत व्यवसायको खपत कम हुँदै जानु र डाटा र इन्टरनेट बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको अवस्थामा कम्पनीहरूको नाफामा गिरावट देखिँदै गएको सरोकारबालाहरू बताउँछन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले टेलिकमको वित्तीय स्वास्थ्य बिग्रँदै गएको भन्दै व्यवस्थापन शीघ्र वैकल्पिक कदम चाल्न टेलिकम व्यवस्थापनको ध्यानाकर्षण गराए । उनले गत आर्थिक वर्ष २०८१/८२ मा टेलिकमले कमाएको नाफा समेत प्राधिकरणको सहुलियतका कारणले मात्र सम्भव भएको उल्लेख गरे ।

‘आर्थिक वर्ष २०८१/८२ मा नेपाल टेलिकमले छ अर्ब रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जबकी यही वर्ष प्राधिकरणले टेलिकमले लाइसेन्स नवीकरणबापत तिर्नुपर्ने चार अर्ब रुपैयाँ शुल्क छुट दिएको छ,’ अध्यक्ष भण्डारीले भने, ‘हामीले सहुलियत नगरेको भए टेलिकमको नाफा २ अर्बमा झरेको हुन्थ्यो ।’

उनले संसारभरका टेलिकम कम्पनीहरूको तुलनामा नेपाल टेलिकमको कर र ह्रासकट्टिअघिको नाफा (इबिटा) राम्रो भए पनि खुद नाफामा त्यो नदेखिनु चिन्ताको विषय भएको भण्डारीले बताए । ‘५० प्रतिशत इबिटा कायम राख्दा पनि मार्जिन प्रोफिट किन भएन भन्ने प्रश्न गम्भीर छ,’ उनले भने।

टेलिकमको बजार हिस्सामा देखिएको गिरावट अर्को चिन्ताको विषय भएको उनले बताए । प्रानेपाल टेलिकमले पूर्वाधारमा अर्बौं लगानी गरे पनि त्यसको प्रतिफल न्यून रहेको उनको भनाइ छ ।

  • ‘इन्टरनेट मोबिलिटी’ र अस्वस्थ प्रतिस्पर्धाको मार

अर्कोतिर बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा र नीतिगत अस्पष्टताले पनि टेलिकमलाई मार पारेको देखिएको छ । विशेष गरी इन्टरनेट सेवा प्रदायकहरूले मोबाइल सेवा प्रदायक सरह मोबिलिटी सुविधा दिइरहेको भन्दै यसले टेलिकम कम्पनीको आम्दानीमा निरन्तर गिरावट देखिएको छ ।

टेलिकमका ट्रेड युनियन प्रतिनिधिहरूले अर्बमा लाइसेन्स लिने र लाखमा लाइसेन्स लिनेको क्षेत्राधिकार एउटै भएको भन्दै यसले समस्या निम्त्याएको गुनासो गरे ।

ट्रेड युनियनको प्रतिनिधित्व गर्ने नेपाल टेलिकम सञ्चालक समितिका सदस्य लोकबहादुर कटवाल भन्छन्, ‘उनीहरूले एउटा मोबाइल सेवा प्रदायकले जस्तै गरेर इन्टरनेट मोबिलिटी सेवा सञ्चालन गरिरहेका छन् । १५ हजार भन्दा बढी वाइफाई हटस्पट सञ्चालन गरेर उनीहरूले टेलिकमको बजार खोसिरहेका छन् ।’

एउटै प्रकृतिको सेवा दिने हो भने लाइसेन्स शुल्क र नवीकरण दस्तुर पनि एउटै हुनुपर्ने उनको भनाइ छ । नेपाल टेलिकम स्वस्थ प्रतिस्पर्धा गर्न नडराउने भए पनि नीतिगत विभेद हुन नहुनेमा उनको जोड थियो ।

प्राधिकरणका अध्यक्ष भण्डारीले भने यो समस्या समाधानका लागि नयाँ दूरसञ्चार ऐनमा प्रतिशतका आधारमा शुल्क लिने व्यवस्था र उल्लेख गरिएको भन्दै संसदको क्षेत्राधिकार रहेको यो विषयमा संसदले कानून पास गरेपछि यो समस्या समाधान हुने बताए ।

  • गुणस्तरमा प्रश्न र पूर्वाधारको दुरुपयोगको अवस्था

अध्यक्ष भण्डारीले टेलिकमको सेवाको गुणस्तरको बारेमा समेत ध्यान दिन आग्रह गरे । प्राधिकरणको अनुगमनले टेलिकमको गुणस्तर दिन प्रतिदिन घटिरहेको देखिएको भन्दै तत्काल कदम चाल्न ध्यानाकर्षण गराए । ग्राहकसँग पटक पटक धैर्यताको परीक्षा लिइरहनु राम्रो नहुने भन्दै यसले ब्रान्ड भ्यालु र ग्राहकको विश्वास समेत नरहने बताए ।

खासगरी विपद्का बेला नेटवर्क डाउन हुने समस्यामा टेलिकम गम्भीर हुनुपर्नेमा उनको सुझाव छ । ‘विपद्को बेला ८-९ सय साइट डाउन भएको देख्यौँ। ब्याट्री र सोलारको समस्या देखाइन्छ। तर हामीले गुणस्तरको प्रतिबद्धता गरेका छौं, साइट डाउन हुन्छ भनेर कानुनी वा व्यावसायिक रूपमा भन्न मिल्दैन,’ उनले भने ।

बिलिङ प्रणालीमा देखिएको त्रुटिले पनि टेलिकमको विश्वसनीयतामा टेलिकमले प्रश्न उठाएको छ। ‘बिलिङको कारणले तीन पटक समस्या भइसक्यो। हामीले निर्देशन दिइसकेका छौं। यदि यस्तै रह्यो भने जनताको विश्वास गुम्ने खतरा छ,’ अध्यक्ष भण्डारीले भने ।

ट्रेड युनियन प्रतिनिधिले भने सेवा अवरुद्धमा सामान चोरी र सुरक्षाको अभाव मुख्य कारण रहेको बताए । सञ्चालक कटुवालले भने, ‘जनकपुर क्षेत्रका धेरै ठाउँमा ब्याट्री लगायत हाम्रा सामानहरू चोरी भएको कारणले सेवा अवरुद्ध भएका छन् । हामी सेवा सञ्चालन त गर्छौं, तर सुरक्षा निकायले पनि निगरानी बढाइदिनुपर्‍यो ।’

  • एफटीटीएचमा र फाइभजीमा गुमेको अवसर

नेपालमा इन्टरनेटको प्रयोग बढिरहेको समयमा टेलिकमले फाइबर टु द होम सेवा सञ्चालनमा ल्याएको छ । यद्यपि बलियो उपस्थिति देखाउन नसकेको अध्यक्ष भण्डारीको टिप्पणी छ ।

दक्षिण एसियामै नेपाल एफटीटीएच पहुँचमा नेपाल ५०.४५ प्रतिशत पहुँचसहित उच्च स्थानमा छ । तर २३ अर्बको बजारमा टेलिकमको आम्दानी यो शीर्षकमा १ अर्बमा मात्र हुनु पर्याप्त नभएको भन्दै नेटवर्क र क्षमता हुँदाहुँदै पनि पछि पर्नुको कारण समीक्षा हुनुपर्ने उनले बताए ।

त्यस्तै, फाइभजी सेवा विस्तारमा भइरहेको ढिलाइले पनि टेलिकमले ठुलो अवसर गुमाएको उनीहरूको टिप्पणी छ । अध्यक्ष भण्डारीले यसका लागि प्राधिकरणले सहुलियत दिए पनि टेलिकमले अवसर गुमाएको टिप्पणी गरे ।

‘फाइभजी को कुरामा पहिला टेलिकमलाई हामीले ट्रायलको लागि फ्रीमा दिएका थियौँ । त्यतिबेला काम भएन । अहिले फेरि माग्दा अरु सेवा प्रदायकले पनि प्रश्न उठाउँछन् । लेभल प्लेइङ फिल्डको कुरा आउँछ,’ अध्यक्ष भण्डारीले भने, ‘निःशुल्क पाएको बेला राम्रो गरेको भए आजको दिनमा सहज हुन्थ्यो । एउटा ठुलो अवसर गुम्यो ।’

परम्परागत भ्वाइस सेवाबाट आम्दानी घटिरहेको अवस्थामा अब टिक्नका लागि नयाँ व्यावसायिक क्षेत्रको खोजी गर्नुपर्नेमा उनीहरूको जोड थियो । अध्यक्ष भण्डारीले नेसनल पेमेन्ट गेटवे र फिनटेक क्षेत्रको एसएमएसबाट ४०-५० करोड आम्दानी बढाउनसक्ने सम्भावना रहेको औँल्याए ।

उनले खर्च कटौतीमा पनि जोड दिए । ‘यदि हामी रेभिन्यू बढाउन सक्दैनौँ भने खर्च घटाउनुपर्छ । ब्यान्डविथको मूल्य पुनरावलोकन गरेर र ओपेक्स घटाएर करोडौं बचाउन सकिन्छ,’ उनले भने।

टेलिकम सञ्चालक समितिकी अध्यक्ष एवं सञ्चार तथा सूचना मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले टेलिकमले अब दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै डिजिटल डिभाइड कम गर्नुपर्ने बताइन् । सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकासको आधार रहेको भन्दै टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेशन जस्ता नयाँ क्षेत्रमा ध्यान दिनुपर्ने उनले बताइन् ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय