हेटौंडा बजार क्षेत्रमा सडक विस्तारका क्रममा सडक विभागले अतिक्रमण गरी बनाइएका संरचना भत्कायो । ती भत्काइएका घरहरूको अहिले घरधनीले व्यवस्थापनको काम गरिरहेका छन् । तर त्यहाँ काम गर्ने श्रमिकहरुलाई भने जोखिम देखिएको छ ।

सडक डिभिजन कार्यालय, स्थानीय सरकार र घरधनीको लापरवाहीका कारण आइतबार मात्र तीन जना श्रमिक एकै स्थानमा घाइते भए । मंसिर २४ र २६ गते भएका घटनामा दुई जना श्रमिक घाइते भएका थिए । कार्यस्थलमा न्यूनतम सुरक्षा मापदण्ड नअपनाउँदा श्रमिकहरुको ज्यान जोखिममा परेको हो ।

हाल सडक विस्तारको क्रममा डोजर चलाएर अलपत्र छाडिएका संरचना पन्छाउने जिम्मा पाएका श्रमिकहरुले हेल्मेट र सेफ्टी बेल्ट लगाएको पाइँदैन । सुरक्षा सामग्री विना नै जोखिमपूर्ण काम गर्न उनीहरु बाध्य छन् भने पछिल्लो समय हेटौंडाका सडक छेउका घरहरु भत्काउने र पन्छाउने कामको स्थानीय प्रशासन र हेटौंडा उपमहानगरपालिकाले समेत निगरानी गरेको देखिँदैन ।

जीर्ण र भत्किएका घर भत्काउँदा गत आइतबार मात्र घाइते भएका पर्साका लारित यादव अहिले अस्पतालको शय्यामा छटपटाइरहेका छन् । एक हजार १०० रुपैयाँ ज्याला पाउने आशामा काम गर्न आएका उनी घरको छत भत्काउने क्रममा तल खसेका थिए । मंसिर २६ गते बुद्धचोकमा असुरक्षित तवरले घरको भग्नावशेष पन्छाउने क्रममा छतसँगै खसेका उनको ढाडको हड्डी भाँचिएको छ । अहिले उनी सन्चो हस्पिटलको आईसीयूमा उपचाररत् छन् ।

यादवसँग सुरक्षाका लागि न कुनै उपकरण थियो, न त दुर्घटना बीमा नै । सुरक्षाको उपाय नअपनाई सस्तोमा काम गराउन खोज्ने घरधनीहरुको प्रवृत्तिले श्रमिकको ज्यान जोखिममा परेको उनी बताउँछन् । बुद्धचोकका घरधनी अनिल श्रेष्ठले मौखिक सम्झौतामा श्रमिक खटाए तर दुर्घटनापछि त्यसबारेमा कुनै जिम्मेवारी लिएका छैनन् ।

आइतबार मात्रै हेटौंडा–१ मा घर भत्काउँदा सन्तोष भ्लोन, दिनेश चौधरी र अरुण चौधरी घाइते भए । गत मंसिर २४ गते बुधबार बुद्धचोकमा १९ वर्षीय जितेन्द्र माझी दुई तला माथिबाट खसे । लगातार एकपछि अर्को दुर्घटना हुँदा पनि सडक डिभिजन र स्थानीय प्रहरी प्रशासनले कार्यस्थलको सुरक्षा अनुगमनमा चासो देखाएको छैन । सडकमै यत्रतत्र छरिएका भत्किएका घरबाट निस्किएका रड र इँटाले बटुवालाई समेत जोखिममा पारेको छ ।

हालसम्म लोरितको उपचारमा करिब ४ लाख रुपैयाँ उपचार खर्च भइसकेको छ । दैनिक ज्यालादारी गरेर जीविका चलाउने उनको परिवार उक्त खर्च उठाउन सक्ने अवस्थामा छैन । अस्पतालले पैसा जम्मा नभए उपचार गर्न नसक्ने बताएको छ ।

सडक डिभिजन कार्यालय हेटौंडाले कानुनी जटिलताका कारण सडक विस्तार तथा व्यवस्थापनको काममा अघि बढ्न सक्ने अवस्था नरहेको जनाएको छ । सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश नआएसम्म कार्यालय ‘हात बाँधेर बस्न’ बाध्य भएको बताए । दैनिक श्रमिकहरु दुर्घटनामा पर्दा मानवीय आधारमा सहयोग गर्न खोजेपनि कानुनी बाधा रहेको उनले बताए । माथिल्लो निकायको निर्देशन र अदालती प्रक्रियाका कारण आफूहरु निरीह बनेको उनको भनाइ छ ।

‘अहिले हामीलाई सडक विस्तारको काममा मात्र होइन, भत्किएका संरचनामा मेसिन प्रयोग गर्न समेत सक्ने अवस्था छैन,’ अधिकारीले भने, ‘कसैले आपत् परेर मेसिन माग्यो भने पनि हामीले पठाउन सक्ने कानुनी अवस्था छैन । हामी सर्वोच्चको आदेश कुरिरहेका छौँ ।’

उनका अनुसार स्थानीय सरकारले जोखिमपूर्ण क्षेत्र घोषणा गरी ‘रातो रिबन’ टाँगेर सचेत गराएको उनले बताए । हालको लागि स्थानीय तहको सूचना र घेराबन्दीलाई नै अन्तिम सुरक्षा उपाय मान्नुपर्ने उनको भनाइ छ ।

‘टास्क फोर्स’ सक्रिय बनाएर निगरानी थालेका छौं : सहायक प्रजिअ जोशी

सडक विस्तारका क्रममा घर भत्काउँदा श्रमिक घाइते हुने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुरक्षा निगरानीमा कडाइ गरेको जनाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार सडक विस्तारको क्रममा आंशिक भत्किएका घरहरुको व्यवस्थापनको क्रममा श्रमिकहरु घाइते हुने क्रम बढेपछि प्रशासनले सुरक्षा सतर्कता र घाइतेको उपचारका लागि पहल थालेको छ ।

भत्किएका संरचनाहरुमा थप दुर्घटनाबाट बचाउन सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । सडक विस्तारको सूचना जारी हुँदा गठन भएको सरोकारवाला निकायहरुको ‘टास्क फोर्स’ लाई सक्रिय बनाएर निगरानीमा लगाउने गरी प्रशासन अघि बढेको उनको भनाइ छ ।

‘अहिले जुन–जुन ठाउँमा घरहरु भत्किरहेका छन् । त्यहाँ अरू दुर्घटना नहोस् भनेर सशस्त्र प्रहरी बललाई अनुगमनका लागि खटाइएको छ । सशस्त्र प्रहरीले दिनभरि कार्यस्थलमा पुगेर निगरानी गरिरहेको छ,’ उनले भने, ‘अहिले सडक भत्काएपछिको अवस्थामा घरधनी आफैँले काम गरिरहेका छन् । ती ठाउँमा सडक डिभिजन, उद्योग वाणिज्य संघ वा सुरक्षा निकाय कसले सहयोग गर्ने भन्नेबारे टास्क फोर्सले काम गर्नेछ ।’

भत्काइएका घर तथा संरचनाको घरधनीहरुले आफैँ व्यवस्थापन गर्दा पनि सामान्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरिएको उनले बताए ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय