पल प्रकरणमा नयाँ ‘ट्वीस्ट’ पीडित बालिकाले फेरिन् बयान।
०४ वैशाख, काठमाडौँ ।
कलाकार पल शाहले आफूमाथि पटकपटक बलात्कार गरेको आरोप लगाएकी नाबालिगले अदालतमा बयान फेरेकी छन्। अदालतले बयान लिने क्रममा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी हुन्।
आइतबार जिल्ला अदालत तनहुँमा पीडितले बयान दिएकी थिइन्। आफूले दबाबमा जाहेरी दिएको र प्रहरीले आफैँले बयान लेखेकोसमेत उनको दाबी रहेको अदालत स्रोतले जानकारी दिएको छ। पलले आफूमाथि बलात्कार नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफैँ बयान लेखेको तर आफ्नो बयान भनेर अदालतमा बुझाएको पीडितको दाबी छ।
पीडितका बुबाले तनहुँ र नवलपुर प्रहरीमा पलविरुद्ध जाहेरी दिएका थिए। दुवै जिल्लाका जिल्ला अदालतले उक्त मुद्दामा प्रारम्भिक सनुवाई गरेका छन्। तनहुँ अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालतको आदेशविरुद्ध पल उच्च अदालतमा पुनरावेदनमा गएका छन्।
बुबाको जाहेरीपछि पीडितले ग्यालेक्सी टेलिभिजनमा अन्तर्वार्ता दिँदासमेत आफूमाथि बलात्कार भएको बताएकी थिइन्। अदालतमा बयान फेरिपछि नाबालिग ‘होस्टाइल’ भएको हुन सक्ने आशंका गरिएको छ।