सशस्त्र प्रहरीले अर्डर गरेको खुकुरी स्वयम्भूस्थित कारखानाबाटै चोरी भएको छ । नागार्जुन नगरपालिका–४ मा भेषबहादुर कामीले सञ्चालन गरेको कारखानाबाट १२० थान खुकुरी चोरी भएको हो ।
चोरीमा संलग्न आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका २७ वर्षीय राजकुमार तामाङ, रौतहट घर भएका ३३ वर्षीय शेख जफ्रे आलम र २३ वर्षीय लाल मोहम्मद देवान छन् ।
ललितपुरको सानेपास्थित आरोपीहरूको डेराबाट ४५ थान खुकुरी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
उनीहरूको डेराबाट महँगो मूल्य पर्ने ३ थान साइकल पनि प्रहरीले बरामद गरेको छ । चोरी मुद्दा अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त स्वयम्भूले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।



