गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न प्यालेस्टाइनी लडाकु समूह हमास सहमत भएको छ ।

बीबीसी संवाददाता जोनाह फिशरका अनुसार, हमासका एक वरिष्ठ अधिकारीले ३४ बन्धकको सूची बीबीसीसँग साझा गरेका छन् । इजरायलसँगको सम्भावित सम्झौताअनुसार पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न सहमत भएको ती अधिकारीले बताए ।

यीमध्ये कति बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।

सूचीमा रहेका नामहरूमा १० महिला र ५० देखि ८५ वर्षका ११ बन्धक छन् । केही युवा पुरुषको नाम पनि सूचीमा छ, जसलाई हमासले यसअघि इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो ।

हमासले यो सूचीका धेरै बन्धक बिरामी रहेका जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले भने हमासले बन्धकको सूची अझै उपलब्ध नगराएको जनाएको छ ।

इजरायलले यसअघि कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरु भएको जनाएको थियो । इजरायलले गाजापट्टीमा आक्रमण बढाएका बेला फेरि युद्धविरामका विषयमा वार्ता सुरु गर्ने घोषणा गरिएको हो ।

गाजामा कार्यरत स्वास्थ्य एजेन्सीले आइतबार विगत २४ घण्टामा गरिएको आक्रमणमा ८८ जनाको ज्यान गएको जनाएको छ ।

आइतबार इजरायली सेनाले गाजापट्टीमा पछिल्ला दुई दिनमा १०० भन्दा बढी ‘आतंकवादी अड्डा’मा आक्रमण गरिएको र ‘दर्जनौँ हमास आतंकवादीलाई मारिएको’ जनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

नेपाली विद्यार्थी विपीन जोशीलाई पनि हमासले बन्धक बनाएको छ । रिहा गरिने भनिएको उक्त ३४ बन्धकको सूचीमा विपीनको नाम भएरनभएको स्पष्ट छैन ।

असोज २० गते हमास समूहले इजरायलमा आक्रमण गरेको थियो। आक्रमणमा नेपालबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका १० जना विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए। विपीन भने उक्त घटनापछि बेपत्ता छन्। प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले पनि विपीनलाई हमास लडाकुले कब्जामा लिई लगेको बताउँदै आएका छन्। तर विपीनको हाल सम्म कुनै पनि जानकारी पाउन सकिएको छैन् । उनको परिवार तथा आफ्न्तहरुले उनलाई फर्केर आउछन् कि भन्ने आशामा बाटो कुरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय