पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं सम्पत्ति शुद्धीकरणको अभियोगमा आइतबार मुद्दा दर्ता भएको थियो ।
गोला प्रक्रियाबाट इजलास छनौट गर्दा न्यायाधीश नीतिज राईको इजलासमा उनको मुद्दा परेको छ ।न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी मध्येका छविलाल जोशीको बयान सुरु भएको छ । अदालतमा रास्वपाका सभापति लामिछाने लगायतका प्रतिवादीलाई उपस्थित गराईए पनि छविबाट बयान सुरु भएको हो ।
न्यायाधीश राई जिल्ला अदालत कास्की मात्रै होइन देशभरको सबै न्यायालयमा कार्यरतमध्ये कान्छा न्यायाधीश हुन् । २०४७ भदौमा जन्मिएका उनी अहिले ३५ वर्षका मात्रै भए ।
देशभर २८२ जिल्ला न्यायाधीश कार्यरत रहेकोमा उनी भने २४५ औं वरियता क्रममा छन् । उनी गत असारमा मात्रै लिखित परीक्षा उत्तीर्ण गरेर न्यायाधीश भएका हुन् ।
त्यतिबेला ४२ जना न्यायाधीशका लागि परीक्षा भएकोमा १२ ले जनामात्रै पास भएका थिए, त्यसमध्येका एक राई पनि थिए ।
कानुनमा स्नातकोत्तर (एलएलएम) उत्तीर्ण गरेका उनी २०७२ साल मंसिरमा मात्रै न्यायसेवाको अधिकृत भएका थिए । उनी आठ वर्षको सेवा अवधिमै न्यायाधीशमा उत्तीर्ण भएका हुन् ।
रविसँगै अब सबै आरोपितहरूको त्यही इजलासमै बयान हुनेछ, अनि राईकै इजलासले उनीहरूको प्रारम्भिक सुनुवाइ गरी थुन्ने वा छाड्ने भन्ने आदेश गर्नेछ ।



