
गण्डकी प्रदेश सभामा नेकपा माओवादी संसदीय दलको ह्वीप उल्लंघन गरेका फणिन्द्र देवकोटा सांसद पदबाट पदमुक्त भएका छन् । प्रदेशका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठक सुरु हुने बित्तिकै उनी पदमुक्त भएको सूचना सुनाएका हुन् ।
फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटा सांसदबाट पदमुक्त भएका छन् ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको जानकारी सहितको पत्र शुक्रबार नै संसद् सचिवालयमा बुझाएका थिए । संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको पद रिक्त हुने सम्बन्धी व्यवस्था छ ।
सोही व्यवस्था बमोजिम स्थान रिक्त रहेको भनी सभामुखले प्रदेश सभा नियमावली २०८० को नियम २०७अनुसार प्रदेश सभामा जानकारी गराएका हुन् ।
यसरी रिक्त रहेको जानकारी प्रदेश सभा सचिवले प्रदेश मन्त्रिपरिषद र निर्वाचन आयोगलाई दिने र सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने कानुनी प्रावधान छ । सभामुखले सूचना सुनाएसँगै उनको मन्त्री पद पनि जाने छ । तर उनी ६ महिनाका लागि मन्त्रीमा नियुक्त हुनसक्छन् ।
उनी मन्त्री हुने सम्भावना उत्तिकै छ । त्यसो भएमा उनले फेरि शपथ लिनुपर्नेछ । माओवादी पार्टी र प्रदेश सभाका सभामुखको निर्णयविरुद्ध देवकोटा सर्वोच्च अदालत जाने बाटो भने खुल्ला छ ।
आफू माओवादीको नभइ नेपाल समाजवादी पार्टीको भएकाले माओवादीको यो निर्णय असंवैधानिक रहेको उनको दाबी छ । माओवादी केन्द्रले जेठ २८ मा मुख्यमन्त्री पाण्डेको पक्षमा विश्वासको मत नदिन ‘ह्वीप’ जारी गरेको थियो ।
उनले ‘ह्वीप’ उल्लंघन गरेपछि माओवादी प्रमुख सचेतक सुशीला सिंखडाले कारबाहीको लागि सिफारिस गरेकी थिइन् भने मुख्यमन्त्री पाण्डेले विश्वासको मत दिँदै गर्दा एमाले र माओवादीका सांसदले नाराबाजी गरेका थिए । देवकोटाले आफू माओवादी केन्द्रको चुनाव चिह्नबाट लडे पनि नेपाल समाजवादी पार्टीको कार्यकर्ता रहेकोले ‘ह्वीप’ नलाग्ने र माओवादीले कारबाही गर्न नमिल्ने बताउँदै आएका थिए ।
माओवादीको चिह्न लिएर चुनाव लडेका उनको पार्टी नेपाल समाजवादी पार्टी हो । प्रदेश सभामा उनी माओवादी सांसदकै हैसियतमा थिए । तर उनले आफूलाई नेसपाकै सांसद दाबी गर्दै आएका छन् ।
प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको दिने बेलामा उनले फ्लोर क्रस गरेका थिए । उनले फ्लोर क्रस गरेकै कारण पाण्डेका पक्षमा ३१ मत पुगेको थियो । पाण्डेका पक्षमा मत हालेको भोलिपल्टै देवकोटा प्रदेशको ऊर्जा ,सिँचाइ तथा खानेपानी मन्त्री बनेका हुन् ।