गत शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले गर्मीका कारण अस्तव्यस्त बनेको जनजीवनमा अघोषित लोडसेडिङले थप पीडा दिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
शून्य समयमा बोल्नेमध्ये राप्रपाका सांसद धवलशमशेर राणाले नेपालगञ्ज क्षेत्रमा नेसनल ग्रिडलाई व्यवस्थित गरेर बत्ती नजाने व्यवस्था मिलाउन माग गरेका थिए ।
अत्यधिक गर्मीका कारण नेपालगञ्जमा ४३ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको छ । पश्चिमदेखि पूर्वी तराई र मधेश क्षेत्रमा पनि तातो हावा ‘लू’का कारण जनजीवन अत्यधिक कष्टकर बनेको छ ।
दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र ‘लू’ चल्ने गरेको छ ।
अहिले गर्मीबाट बच्ने एक मात्र उपाय भनेको पंखा, कूलर या एसी हो ।
नेपाल विद्युत प्राधिकरणको कमजोर व्यवस्थापनका कारण भएको अघोषित लोडसेडिङले सामान्य जनता गर्मीका कारण पीडादायी अवस्था गुजार्न बाध्य छन् ।
यसैगरि सोही बैठकमा नेकपा एमालेकी सांसद निर्मला कोइरालाले पनि गर्मीको समयमा बत्ती नजाने व्यवस्था मिलाउन माग गरेकी थिइन् ।
उनले भनिन्, ‘नारायणी अस्पतालमा उपचारका लागि आउने बिरामीहरू बत्ती नहुँदा गर्मीले छटपटाउनु परेको र पानीका स्रोतहरू सुकेर पानी पिउनसमेत नपाउने अवस्था रहेको छ । यी समस्या तत्काल समाधान गर्न सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु ।’
एमालेकै सांसद दीपा शर्माले बाँकेलगायत कर्णाली प्रदेशका जनताले लोडसेडिङ अन्त्य भएको अनुभूति गर्न नपाएको बताइन् ।
अघोषित लोडसेडिङले जीवन कष्टकर
गर्मीकै कारण पछिल्लो एक सातामा कैलालीको कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर राना मगरको मृत्यु भएको छ भने रौतहटमा अर्का एक बटुवाले ज्यान गुमाएका छन् ।
गत जेठको दोस्रो साता झापाको मेचीनगरमा ७४ वर्षका नरबहादुर श्रेष्ठले गर्मीकै कारण ज्यान गुमाए । सोही दिन बुद्धशान्तिको जयपुरमा एक बेवारिसे शव फेला पर्यो । उनको पनि गर्मीकै कारण मृत्यु भएको प्रहरीको अनुमान छ ।
नेपालगञ्ज उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल अन्सारी भन्छन्, ‘अत्यधिक गर्मी छ । एक मिनेट बत्ती जाँदा पनि मान्छेलाई गाह्रो भइरहेको छ । यस्तो समयमा विभिन्न बहानामा विद्युत् लोडसेडिङ गरेकोगर्यै छ ।’
उनले उपभोक्ताले महसुल तिरेपछि विद्युत पाउनु अधिकार भएको बताए । ‘यो गर्मीको बेलामा कुनै पनि बहानामा विद्युत काट्न पाइन्न,’ अन्सारीले भने
नेपालगञ्जकै अर्का एक स्थानीय श्यामबहादुर बिकले भने, ‘बिजुली छिनछिनमा ट्रीप हुन्छ । भोल्टेज पूरै आउँदैन । एसी, कुलर त परै जाओस्, पंखासमेत चल्दैन । मेरै आँखाअगाडि कैयौं मान्छे बिरामी भएर अस्पताल गएका छन् ।’
विराटनगरमा पनि उस्तै
विराटनगरमा पनि उस्तै अवस्था रहेको छ । विराटनगरमा उखरमाउलो गर्मीमा बत्ती झ्याप्पझ्याप्प जाँदा व्यापार व्यवसाय ठप्प छ भने सर्वसाधारण पनि गर्मीले आक्रान्त छन् ।
विराटनगरमा स्ट्याम्प छापको पसल गर्ने बुद्धि सुवेदीले अघोषित लोडसेडिङका कारण आफ्नो रोजीरोटीनै गुम्ने खतरा बढेको बताएका छन् ।
‘एकातिर यस्तो गर्मी छ, जुनसुकै बेला पनि बिरामी पर्न सकिन्छ, अर्कातिर लाइन नआउँदा पंखा चल्दैन । अझ गाह्रो कुरा त झ्याप्पझ्याप्प बत्ती जाँदा काम पनि प्रभावित भएको छ,’ सुवेदीले भने ।
अर्का स्थानीय प्रकाश अधिकारीले विद्युत सेवा अनियमित हुँदा न घर बस्न सकिने, न बाहिर जान सकिने परिस्थिति आएको बताए ।
विराटनगर औद्योगिक क्षेत्रलाई पनि लोडसेडिङले हैरान बनाएको छ । दिनमा ६/७ पटक बिजुली ट्रीप हुँदा उद्योगको क्षमता ३० प्रतिशतमा झरेको विराटनगरका उद्योगी राकेश सुनारले बताए ।
‘अहिले लोडसेडिङ भनेर कुनै पनि तालिका सार्वजनिक गरिएको छैन,’ उनले भने, ‘तर दिनमा छ/सातपटक बिजुली जान्छ ।’
अहिले त्यो क्षेत्रमा दैनिक १० घण्टासम्म विद्युत जाने गरेको उनको भनाइ छ । ‘यस्तो सिलसिला निकै लामो समयदेखि चलिरहेको छ,’ उनले भने, ‘उद्योगहरू धराशायी हुने अवस्थामा पुगेका छन् ।’
बुटवल-भैरहवा क्षेत्रमा दैनिक १२ घण्टासम्म गायब हुन्छ बिजुली
बुटवल-भैरहवा औद्योगिक कोरिडोरमा पनि अहिले १२ घण्टाभन्दा बढी लाइन जाने गरेको छ । कोरिडोरमा मात्र होइन, सर्वसाधारणको घरबाट पनि विद्युत गायब हुँदा गर्मी झन् कष्टकर बनेको छ ।
अत्यधिक गर्मीका कारण अस्पताल भर्ना भएका एक स्थानीय हरि खनाल भन्छन्, ‘आफ्नो पसलमै काम गरिरहेको थिएँ । बत्ती थिएन, गर्मी लागिरहेको थियो, एकाएक बेहोश भएछु । लुम्बिनी प्रादेशिक अस्पतालमा दुई दिन उपचार गरेपछि ठीक भएको छ ।’
त्यस क्षेत्रमा रहेको औद्योगिक कोरिडोरमा त अघोषित लोडसेडिङ हुने समस्या पुरानै हो ।
पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहुले बुटवल-भैरहवा कोरिडोरका ठूला उद्योगले १२ घण्टासम्म निरन्तर लोडसेडिङ खेप्दै आएको बताए ।
‘विगत दुई साढे महिनादेखि यस क्षेत्रका उद्योगले अघोषित लोडसेडिङको मार खेपिरहेका छन्,’ महाप्रबन्धक साहुले भने, ‘लोडसेडिङको तालिका दिनुहोस् भनेर प्राधिकरणको कार्यालयमा जाँदा लोड व्यवस्थापन हो, लोडसेडिङ होइन भन्छन् । माथिबाट निर्देशन आएको छ, लाइन पूरा दिन सक्दैनौं भन्छन् । यसले गर्दा उत्पादनमा निकै समस्या भएको छ ।’
उनले बिहान ५ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि १० बजेसम्म लाइन कटौती हुने गरेको बताए ।
भैरहवा-लुम्बिनी कोरिडोरमा अघोषित लोडसेडिङको समस्या झनै धेरै रहेको बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराईले बताए ।
‘प्राधिकरणले नियतवश नै बुटवल-भैरहवा क्षेत्रमा लाइन काटिरहेको उनको दाबी छ ।
प्राधिकरणको ४ जवाफ
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन घोषले पश्चिमको टनकपुर सप्लाइ र पूर्वको ढल्केबरमा समस्या आएको, निजी क्षेत्रले भने जति विद्युत नदिएको र पूर्वाधारको पर्याप्त विकास नभएको कारण देखाए ।
‘पश्चिममा अलिअलि समस्या देखिएको छ । हामीहरूले टनकपुरबाट लिएको सप्लाइमा समस्या आउने गरेको छ । हावाहुरी चल्छ । अस्ति स्याउलेमा त्यस्तै भयो । यस्तै चुनौतीका कारण विद्युत आपूर्ति बन्द भएको हो,’ उनले भने ।
ढल्केबर प्रसारण लाइन सञ्चालनमा आएपछि विराटनगरलगायत पूर्वी क्षेत्रमा समस्या समाधान हुने उनले बताए ।
‘फागुनमा सम्पन्न हुनुपर्ने आयोजना जेठको अन्त्यसम्म पनि सञ्चालनमा आएको छैन, कसले अवरोध गरिरहेको छ, खोज्नुस् न तपाईंले,’ उनले भने ।
निजी क्षेत्रका जलविद्युत आयोजनाले उत्पादन गर्छु भनेर प्रतिबद्धता जनाएको विद्युत उत्पादन नगर्दा पनि समस्या आएको उनको जिकिर छ ।
‘निजी क्षेत्रबाट यति विद्युत दिन्छौं भनेर उहाँहरूले भन्नुहुन्छ तर कति दिनुहुन्छ, यो तपाईंले उहाँहरूले नै सोध्नुपर्यो,’ उनले भने ।
अन्तिममा उनले थपे, ‘नयाँ पूर्वाधार नबनेसम्म यो सबै समस्याको समाधान हुँदैन ।’