सरकारको गलत नीतिका कारण हरेक क्षेत्रका व्यवसायीहरु समस्यामा परेका उल्लेख गर्दै नेता भण्डारीले जनप्रतिनिधिलाई तलब खुवाउन सवारी साधन आयातमा तीन सय प्रतिशतसम्म महँगो कर लिने गरिएको बताए ।
सरकारले देशका १२ जना ठूला व्यापारीको मात्रै पक्षपोषण गरेकाले साना तथा मझौला व्यवसायीहरु संकटमा परेको भण्डारीले आरोप लगाए ।
न्यायालय पनि ठूला व्यापारी थुनामा पर्दा उनीह्रुकै प्रभावमा परेर छोड्न दबाब दिने गरेको उनको टिप्पणी थियो ।
चर्को कर र बैंक ब्याज दरका कारण नेपालको कृषि र अन्य व्यवसाय फस्टाउन नसकेको बरु संकटमा पर्दै गएको उनले औंल्याए । ‘भारतमा ८ लाखमा पाइने स्कारपियो जीप नेपालमा ६० लाख पर्छ,५० हजारमा पाइने मोटरसाइकल २ लाख पर्छ,’ भण्डारीले भने, ‘यति चर्को भन्सार दर र कर भएपछि नेपाली व्यवसायीले भारतीय उत्पादनसँग कसरी प्रतिस्पर्धा गर्ने ?’
देश बनाउन अब आउने चुनावमा भ्रष्ट नेताहरुलाई हराउन मतदाता पनि परिवर्तन हुनुपर्ने उनले आग्रह गरे । ‘एउटै नेता पटक-पटक सांसद हुने र सरकारकोे नेतृत्वमा जाने परिपाटी रोक्नुपर्छ, नयांलाई अवसर दिनु पर्छ,’ भण्डारीले भने ।
नेता भण्डारीले नेपालमा सांसद र मन्त्रीको संख्या अत्यधिक धेरै भएकाले राजस्वले तलब खुवाउन पनि नपुग्ने अवस्था रहेको बताए । ‘वडासम्मका ३६ हजार जनप्रतिनिधि धेरै भयो, यसलाई १८ हजारमा झार्नुपर्छ’, उनले भने, ‘जता गयो उतै मन्त्री नै मन्त्री, अब सांसद र मन्त्रीको संख्या घटाउन सबैले आफ्नो आफ्नो दलमा दबाब दिनुपर्छ ।’
कमिसन खानका लागि विदेशबाट ऋण लिएर पूर्वाधारमा अन्धाधुन्द लगानी गरिएको उनले बताए ।
सरकारसंग वृद्धहरुलाई दिने मासिक ४ हजारका दरले दिने भत्ताको रकम पनि नभएको उल्लेख गर्दै वृद्ध भत्ताको साटो जन्मिएपछि बैंक खातामा ५ हजार जम्मा गर्दिने र बृद्धभत्ता खारेज गर्नुपर्ने तर्क गरे ।



