राजस्व अनुसन्धान विभागले अमेरिकन कम्पनी(कोटिभिटी इंक) तथा उसको सब्सिडरी कम्पनी (कोटिभिटी नेपाल प्रालि)विरुद्ध १० अर्ब ३६ करोड राजस्व छलीको मुद्दा दायर गरेको छ ।
विभागले १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ मागदाबीसहित आइतबार उच्च अदालत पाटनमा अभियोग पत्र दायर गरेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । कोटिभिटी इंक (होल्डिङ कम्पनी) को सहायक कम्पनी कोटिभिटी नेपाल प्रालिले ५ अर्बभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) छलेको विभागले गरेको अनुसन्धानबाट खुलेको छ ।
उक्त कम्पनीले आफूमा रहेको निहीत शेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा सम्बन्धित निकायहरूमा कुनै जानकारी नदिई सोबमोजिम सिर्जना हुने प्रचलित कानूनबमोजिमको कर दायित्व ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ चुहावट गरेको अभियोगपत्रमा उल्लेख छ ।
विभिन्न आर्थिक वर्षमा कम्पनीको शेयर स्वामित्वमा परिवर्तन भएको देखिए पनि कम्पनीको शेयर स्वामित्वमा भएको परिवर्तनअनुसार प्रस्तुत कम्पनीले दर्ता रहेको मध्यमस्तरीय करदाता कार्यालयलगायत नेपाल सरकारअन्तर्गतका निकायमा जानकारी नदिई प्रचलित कर कानूनबमोजिम तिर्नु/बुझाउनु पर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कोटीभिटी नेपाल प्रालि नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानी भएको कम्पनी हो । कम्पनीको साविकको नाम भर्सिक इन्फर्मेसन टेक्नोलोजी प्रालि रहेकोमा २०७३ श्रावण २८ गतेको शेयरधनीको निर्णयानुसार कम्पनीको नाम परिवर्तन गरी भर्सेन्ड टेक्नोलोजी प्रालि कायम गरी कम्पनी रजिष्ट्रार कार्यालयले २०७३ भदौ ८ गते स्वीकृति प्रदान गरेको देखिन्छ ।
त्यस्तै, कम्पनीको मिति २०७५ कात्तिक १ को शेयरधनीको विशेष निर्णयबमोजिम भर्सेन्ड टेक्नोलोजी प्रालि नाम परिवर्तन गरी कोटीभिटी नेपाल प्रालि कायम गर्न निवेदन दिएका थिए । त्यसपछि २०७५ पुस ८ को पत्रबमोजिम हालसम्म सो कम्पनीले कोटीभिटी नेपाल प्रालिको नामबाट आफ्नो कारोबार गर्दै आएको देखिन्छ ।
आर्थिक वर्ष २०७२/७३ मा कुल १७लाख ५ हजार २०२ कित्ता सम्पूर्ण शेयर भेरिक्स हेल्थ इन्क, संयुक्त राज्य अमेरिकाको नाममा प्रमाणित शेयरधनी दर्ता किताबाट देखिन्छ ।
त्यस्तै, २०७५ जेठ २१ मा कम्पनीको तर्फबाट प्रमाणित शेयरधनी दर्ता किताबअनुसार कम्पनीको एकल शेयरधनी भर्सेन्ड टेक्नोलोजी ईन्क, संयुक्त राज्य अमेरिका रहेकोमा मिति २०७५ कत्तिक २६ मा कम्पनीको तर्फबाट प्रमाणित शेयरधनी दर्ता किताबअनुसार कम्पनीको एकल शेयरधनी कोटिभिटी ईन्क संयुक्त राज्य अमेरिका रहेको देखिन्छ ।
मुल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ७ मा मूल्य अभिवृद्धि करका दरहरूको व्यवस्था गरेको छ । सो व्यवस्थाअनुसार अनुसूची- २ मा उल्लिखित सेवाको कारोबारमा शून्य दरमा कर लाग्ने व्यवस्था गरेको छ । अनुसूची -२ को दफा २ (क) मा नेपालभित्र बसोबास भएको व्यक्तिले नेपालमा कुनै व्यावसायिक कारोबार, व्यावसायिक प्रतिनिधित्व वा कानूनी रूपमा मान्य प्रतिनिधि नभएको नेपालबाहिरका व्यक्तिलाई आपूर्ति गरेको सेवामा शून्य दरमा कर लाग्ने व्यवस्था छ ।
कोटीभिटी नेपाल प्रालि कोटीभिटी इंकको व्यवसायिक प्रतिनिधि भएको विज्ञप्तिमा भनिएको छ ।
राजस्व चुहावट नियन्त्रणमा विभागले तथ्यमा आधारित रही अनुसन्धान तथा तहकिकातलाई जोड दिएको छ ।
महानिर्देशक ढुंगानाका अनुसार एउटै व्यावसायिक कम्पनीलाई यति ठूलो मात्राको सजाय मागदाबी गरी अभियोग दायर गरेको यो पहिलोपटक हो।



