नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादव समूहले केन्द्रीय समितिमा बहुमत पुर्‍याउन हस्ताक्षर अभियान सुरु गरेको छ । अध्यक्ष डा. बाबुराम भट्टराई समूहको सोमबार बसेको बैठकले अध्यक्ष महिन्द्रसहितका नेताहरूलाई पदमुक्त गरेपछि हस्ताक्षर अभियान चलाइएको हो ।

महिन्द्र पक्षधरले  मंगलबार बिहान नयाँ बानेश्वरमा आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । नेसपाभित्र बहुमत सदस्य आफूहरूसँग रहेको महासचिव रमेशप्रसाद यादवले दाबी गरे । बाबुरामसहितका नेताहरूलाई कारबाहीको विषयमा पनि बैठकले निर्णय गर्ने उनले बताए ।

‘हामीले हस्ताक्षर गरिरहेका छौँ । निर्वाचन अयोगमा अद्यावधिक भएको केन्द्रीय सदस्यहरूको  सङ्ख्या १६७ जना छ । तीमध्ये हाम्रो पक्षमा एक सय जना छन् । साथीहरू आउँदै हुनुहुन्छ । उहाँहरूलाई कारबाही गर्ने विषयमा बैठकले निर्णय गर्छ’, यादवले भने ।

नेसपामा ९ जनाको पदाधिकारी र २४ जनाको केन्द्रीय कार्यकारिणी समिति समेत रहेका छन् । तीमध्ये आफ्नो पक्षमा पदाधिकारीमा ४ जना, कार्यकारिणी समितिमा १२ जना र केन्द्रीय समितिमा सय जना रहेको उनले दाबी गरे ।

सोमबार बसेको बाबुराम समूहको बैठकले माओवादीसँग एकता गर्ने सहमति खारेज गर्दै माघ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको थियो । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बाबुरामलाई बाइपास गरेर महिन्द्र पक्षधर नेताहरू र माओवादी केन्द्रबिच एकता गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय