गत मङ्गलबार नेपालगन्जमा भएको घटनामा तोडफोड र ढुङ्गामुढाबाट भएको क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ । नेपालगन्जस्थित वडा ११ इदगाहरोडमा सबैभन्दा बढी क्षति भएकाले वडा ११ को वडा कार्यालयले क्षतिको विवरण सङ्कलन सुरु गरेको हो ।

वडा ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप नेतृत्वको टोलीले इदगाहरोडका पसल र घरको अवलोकन गरेर क्षतिको विवरण सङ्कलन गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वपक्षीय बैठकमा गरिएको सहमतिअनुसार क्षतिको विवरण सङ्कलन गरेर लुम्बिनी प्रदेश गृह मन्त्रालयमा पठाइने र प्रदेश सरकारले क्षतिपूर्ति उपलब्ध गराउनेछ ।

नेपालगन्ज उपमहानगरपालिका ११ का वडा अध्यक्ष कश्यपले गत मंगलवारको घट्नामा भएको क्षतिको विवरण सङ्कलन सुरु गरिएको बताउनुभयो । उहाँले क्षति भएका घर, पसल र घुम्तीमा पुगेर अवस्था हेरेर क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताउनुभयो ।

क्षति विवरण सङ्कलनमा वडा अध्यक्ष कश्यपसँगै वडासचिव तेजबहादुर सिंह, वडा सदस्यहरू पुनम लखेर, सविता वाल्मीकि, जितेन्द्र गुप्ता, कर्मचारी सुरज साहु र वडा प्रहरीका असई पूर्णबहादुरलगायत खटिनुभएको छ । यसअघि सो घट्नामा परी घाइते हुनुभएका २२ जनाको उपचार नेपालगन्ज उपमहानगरले निःशुल्क गराएको थियो ।

गत मङ्गलबार भएको सो घटना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले उपमहानगर क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा जारी गरेको थियो । नगरको अवस्था सामान्य बन्दै गएपछि कर्फ्यु र निषेधाज्ञा क्रमशः घटाउँदै लगिएकोमा मङ्गलवारबाट पूर्ण रूपमा कर्फ्यु र निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय